चितवनः राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी वल नम्बर ३ गढिमाई वाहिनी बागमती प्रदेशका ४२ जना प्रहरीमा एकै साथ कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्ये २ जना महिला र ४० जना पुष रहेको भरतपुर कोभिड १९ प्रयोगशालाले जानकारी दिएको छ । यो संगै जिल्लामा ५१ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अघि सोही बाहिनीका ८ जनामा कोरोना संक्रमण देखिए पछि अन्यको परिक्षण गरिएको वाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक मन्दिप श्रेष्ठले जानकारी दिनुभयो । ६० जनाको नमुना संकलन गरि पठाईएकोमा ४२ जनामा संक्रमण देखिएको जानकारी आँफुले प्राप्त गरेको उहाँले बताउनुभयो । ९ जनालाई ज्वरो आएकोमा निको हुदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो वाँकी रहेको उहाँले जानकारी दिनुभयो । वाहिनीमा ३ सय जना भन्दा वढि सशस्त्र प्रहरी रहेका छन् । यो वाहिनीले बागमती प्रदेशको राजधानीका तीन जिल्ला वाहेकका जिल्ला हेर्ने गर्दछ ।

दुई दिन अघि पूर्बी चितवनका नगरप्रमुखहरुको बैठकले सो वाहिनी उच्च जोखिममा रहेको भन्दै त्यही आईसोलेसन निर्माण गर्न वागमती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरिएको थियो । राप्ती नगर प्रमुख प्रभा बरालले संक्रमण देखिए पछि सशस्त्र प्रहरी सबै बाहिनी भित्रै रहेकाले बाहिर संक्रमण फैलन नपाएको अनुमान गरिएको बताउनु भयो । संक्रमण देखिएका प्रहरीलाई त्यही भित्र आईसोलेसन तयार गरि उपचार गरिने उहाँले जानकारी दिनुभयो ।

सोमबार राती अबेर कोभिड १९ प्रयोगशालामा आएको नतिजा अनुसार ५० जना संक्रमित मध्ये ४६ जना चितवनका हुन् । राप्तीका संक्रमितहरु उनिहरु १९ देखि ५५ बर्ष उमेर समूहका हुन् । यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १,बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार परीक्षण गरिएको ३५५ नमुना मध्य ५० वटा नमुनामा कोरोना पोजेटिभ भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस !