चितवनः जिल्लामा कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनको रत्ननगर बहुलहर अस्पताललाई आइसोलेशन अस्पताल बनाईने भएको छ । अन्य बिरामीको तुलनामा कोरोना संक्रमित बढेपछि आईसोलेसनमा रुपान्तरण गर्न लागिएको हो ।
पूर्वीचितवनका चार नगरपालिकाका प्रमुखहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको रत्ननगर नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष नारायण वनले बताउनुभयो । अस्पताललाई तत्काल ३० बेडको आइसोलेशन कक्ष बनाउने उहाँले जानकारी दिनुभयो ।
अस्पतालका चिकित्सकलाई संक्रमण पुष्टि भएपछि हाल आकस्मिक कक्ष बाहेक सबै बन्द रहेकाले पनि आइसोलेशन अस्पतालको रुपमा बनाएर अघि बढ्ने निर्णय भएको प्रमुख वनले बताउनुभयो ।
आइसोलेशन अस्पतालको व्यवस्थापनका लागि बागमती प्रदेश सरकारसँग सहयोग माग गर्ने निर्णय समेत गरिएको वनले बताउनुभयो । यस्तै बैठकले पूर्वीचितवनका बासिन्दाको छुट्टै पीसीआर परीक्षणका लागि रत्ननगरमै प्रयोगशाला स्थापना र जनशक्ति व्यवस्थपन गर्नका लागि प्रदेश सरकार समक्ष माग गरेको छ ।
बैठकले राप्ती नगरपालिका अन्तरगतको सशस्त्र प्रहरी बल गढीमाई गण ३ नम्बर बाहिनीमा पनि आइसोलेशन वार्ड तयार गर्र्नका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ ।