चितवनः चितवनमा पनि निजी क्षेत्रबाट पिसिआर परिक्षण हुने भएको छ । भरतपुरमा रहेको चितवन मेडिकल कलेजले पिसिआर परिक्षणको अनुमती पाए संगै पैसा तिरेर परिक्षण गर्न चाहनेहरुका लागि सहज भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरिक्षण पछि सो कलेजलाई प्रयोगशाला संञ्चालनको अनुमती दिईएको हो ।
कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा हरिशचन्द्र न्यौपानेले यही मंगलबार सम्ममा प्रयोगशाला संञ्चालनमा ल्याईने बताउनुभयो । जिल्लामा हाल सम्म निजी खर्चमा पिसिआर परिक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले संञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भाबित संक्रमितको मात्र निशुल्क परिक्षण गरिदैं आएको छ ।
न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमुनाको रु ५ हजार ५ सयमा १० प्रतिशत थप गरि शुल्क लिईने छ । नमुना परिक्षणका लागि रु ६ हजार ५० लिईने उहाँले जानकारी दिनुभयो । कलेजले भित्र्याएको पिसिआर उच्च स्तरको हो । ६ घण्टामा ४ सय जनाको नमुना परिक्षण गर्न सकिने न्यौपानेको भनाई छ । कलेजमा पिसिआर परिक्षण गर्न सक्ने सात जना प्राबिधिक रहेका छन् । दैनिक १८ घण्टा संञ्चालन गर्दा १ हजार २ सय जनाको स्वाब परिक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । उहाँले भन्नुभयो “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बिएसएल स्तरको भनिने उहाँको भनाई छ ।
प्रयोगशाला निर्माणमा रु ५ करोड ४० लाख खर्च भई सकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका वाहेककाले परिक्षण गर्न नपाउने भए पछि आँफै शुल्क तिरेर परिक्षण गर्न चाहनेले अबसर पाएका थिएनन् । निजी स्तरबाट प्रयोगशाला संञ्चालनमा आए संगै पैसा तिरेर परिक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना संक्रमण वढ्दै गएको छ । भरतपुर अस्पतालमा संकलन भएको नमुनाको संख्या थपिदैं गए पछि नतिजा आउन एक साता सम्म कुर्नु पर्ने बाध्यता रहेको छ ।
निजी क्षेत्रबाट प्रयोगशाला संञ्चालनमा आए संगै सरकारी प्रयोगशालामा परिक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले वताउनुभयो ।