चितवन: जिल्लामा कोरोन संक्रमण समुदाय स्तरमा फैलिदै गए पछि यहाँका स्थानीय तहहरु निषेधाज्ञा जारी गर्ने तयारी गरेका छन् । भरतपुर महानगरपालिकाले शुक्रबार राती १२ वजे देखि निषेधाज्ञा जारी गरि सकेको छ भने पूर्बी चितवनमा रहेका चार नगरपालिकाले पनि आज राती देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन् ।
आज पूर्वी चितवनको रत्ननगर , खैरहनी , कालिका र राप्ती नगरपालिकाका प्रमुखहरु र सुरक्षानिकाय सहित बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागु गर्ने निर्णय भएको हो ।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आज राति १२ वजे देखि लागु हुने गरि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । सोहि अनुरुप प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको वरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोरोनाको महामारी फैलिएको छ । अब निषेधाज्ञा जारी नगरे हिडडुल रोक्न सकीएला जस्तो छैन ।”
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पूर्बी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक वसेर निषेधाज्ञाको अनुरोध गरेको बताउनुभयो । यस संगै प्रशासनले आजै सूचना जारी गरि निषेधाज्ञा गर्ने भएको छ । त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा समेत कोरोना परिक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।