
काठमाडौंः नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार नाघेको छ । बुधबारसम्म देशभर २४ हजार ४३२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै देशका बिभिन्न जिल्लामा गरि पछिल्लो २४ घण्टामा ४८४ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको मन्त्रालयले जनाएको छ । उनीहरूको देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ४८१ जनाको पीसीआर परीक्षण भंएको मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । बुधबार १४ हजार ८४६ जना देशभरका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा ६४ जना निको भएका छन् । हालसम्म १६ हजार ७२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको प्रतिशत ६८ दशमलब ४ रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।