काठमाडौंः कोरोना भाईरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन वढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । एकै दिन काठमाडौंका २ जनाको मृत्यु भएको छ भने अन्य २ जना बाँके र पर्साका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१०, मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाँट बस्ने ६४ वर्षका पुरुषको आज निधन भएको हो ।
यस्तै, बाँकेको कोहलपुर नगरपालिका– २ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा हिजो निधन भएको उहाँले बताउनुभयो । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी बिरामी थिइन् ।
यस्तै, पर्साको देवयानी–१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।