चितवनः चितवन सहित आठ जिल्लाका कोरोना भाईरस (कोभिड १९) संक्रमितको सफल उपचार गर्न यहाँको सरकारी अस्पताल भरतपुर अस्पताल सफल भएको छ । अस्पतालले हाल सम्म ८३ जना संक्रमितको उपचार गरिसकेको छ ।

अन्य अस्पतालमा गम्भिर भए पछि सो अस्पतालमा पठाईएका दुई जना संक्रमितको मृत्यु भएको छ भने १० जना उपचाररत रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालले चितवनका ७६ जना, नवलपुरका १० जना, मकवानपुरका २ जना, नवलपरासीका २ जना, कपिलवस्तुका १ जना र कैलालीका २ जना संक्रमितको उपचार गरेको छ । अस्पतालको मातहतमा एउटा प्रयोगशाला र छुट्टै कोरोना अस्पताल रहेको छ । अस्पतालमा १० शैयाको कोरोना सघन उपचार कक्ष सहित १ सय ३५ शैयाको आईसोलेसन रहेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालको प्रयोगशालाले हाल सम्म ११ हजार ५ सय ७५ जनाको नमुना परिक्षण गरेको छ । पौडेलका अनुसार चितवन सहित १० जिल्लाको स्वाब यहाँ परिक्षण गरिएको थियो । सो क्रममा तीन सय ५० जनाको पोजेटिभ नतिजा आएको थियो ।

स्वास्थ्य काार्यलय चितवनका प्रमुख दिपक तिवारीका अनुसार जिल्लामा हाल सम्म संक्रमितको संख्या १ सय १५ रहेको छ । भरतपुर अस्पताल बाहेक माडी नगरपालिकामा र रत्ननगरको गुञ्जमान अस्पतालमा रहेको आईसोलेसनमा संक्रमित राखिएका थिए । माडीमा मात्र ३१ जना संक्रमितलाई राखिएको थियो । रत्ननगरमा एक जनाको उपचार गरिएको छ । हाल माडीमा १२ जना संक्रमित उपचाररत रहेका छन् । गम्भिर भएकाको उपचार भरतपुर अस्पतालमा भएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी भरतपुर अस्पतालको पूर्ब तयारीका कारण रोगको सफल उपचार गर्न सकिएको बताउनुहुन्छ । चीनको वुहानबाट डिसेम्बर अन्तिममा कोरोना भाईरस सुरु भएको हो । चीन वाहिर पहिलो पटक फिलिपिन्समा १ जनाको मृत्यु हुँदै गर्दा यहाँको भरतपुर अस्पतालमा उपचारको सम्पूर्ण तयारी थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो “नेपालमा कुनै तयारी नहुँदा हामीले पुरै तयारी गरेका थियौ ।” टेकुमा पाँच शैया हुँदा भरतपुर अस्पतालमा ११ शैया तयार भएको उहाँ बताउनुहुन्छ । जिल्लामा भरतपुर महानगरपालिकाको अगुवाईमा छुट्टै कोरोना अस्पताल स्थापना गरिएको र त्यसको प्राबिधिक पक्षको नेतृत्वदायी भूमिका भरतपुर अस्पतालले गरेको थियो । पछि महानगरले सो अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

अधिकारीले नेपालमा पहिलो पटक यहाँ छुट्टै कोरोना अस्पताल स्थापना भएको बताउनुभयो । पछि देशभरमा यो संख्या २३ पुगेको उहाँको भनाई छ । कोभिड सघन उपचार कक्ष पनि देशमानै पहिलोपटक भरतपुर अस्पतालले बनाएको उहाँको दाबि छ । यहि अस्पतालले ७४ वर्षका क्यान्सरको चौथो तहका बिरामीको समेत सफल उपचार गरेको भन्दै उहाँले एउटा अस्पताल भए पनि त्यहाँ भित्रका छुट्टाछुट्टै संरचनाका कारण कोरोना र अन्य बिरामीको उपचार संगसंगै हुन सकेको जानकारी दिनुभयो । अधिकारीले भन्नुभयो “हाम्रो साबधानीका कारण अस्पताल रोगको हटस्पोट वनेर सिल गर्नु परेन ।” अस्पतालको ए ब्लकको भूई तलामा छुट्टै व्यवस्थित ढङ्गबाट संक्रमित राखिएको छ । अहिले सम्म चिकित्सक, स्वास्थ्य कर्मी, कर्मचारी कसैलाई पनि कोरोनाको संक्रमण देखिएको छैन ।

यहाँ कोरोना संक्रमणको जोखिम बढी हुने भएकाले सात महिना अघिनै माहामारी नियन्त्रणको पूर्वतयारी सुरु गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी बताउँनुहुन्छ । अस्पतालले रोगको बारेमा अध्ययन गर्न दुई जना फिजिसियन खटाएको थियो। सबै कर्मचारीलाई रोगबारे जानकारी दिने र बुझाउने उनीहरुको जिम्मेवारी थियो।

अस्पतालले सुरुवाती देखिनै ज्वरो, रुघाखोकीका बिरामीलाई छुट्टै बहिरंग टिकट काट्ने ठाउँको समेत व्यवस्था गरेको थियो । पुसदेखि पूर्वतयारी थाले पनि वैशाख ५ गते मात्र पहिलो संक्रमित भर्ना भएको तिवारीले जानकारी दिनुभयो । अस्पतालले डा. प्रमोद पौडेलको संयोजकत्वमा बिभागिय प्रम्ुखहरु सहितको १५ सदस्यिय टोली वनाएर संक्रमितको उपचार गराई रहेको छ । तिवारी भन्नुहुन्छ “सबैको साथ र सहयोगका कारण भरतपुर अस्पताल हाल सम्म कोभिड उपचारमा सफल भएको छ ।” निजी अस्पतालले संक्रमण देखिना साथ भरतपुर अस्पताल बिरामी पठाउने गरेका छन् । सुरुका दिनमा निजीमा लक्ष्यण देखिएका बिरामी पनि सरकारी अस्पताल पठाउने गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई कोरोना उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुहुन्छ । त्यहाँ उपचाररत बिरामीको निको हुने दर राम्रो भएको, संक्रमितको उपचार हुँदा हुँदै पनि सुरक्षित ढङ्गबाट बहिरंगका बिरामीको उपचार गरेको भट्टराई बताउनुहुन्छ । बहिरंग सेवा दिन अस्पताल व्यवस्थापनले हतारो गरेको भए पनि बिरामीले सुरुसुरुका दिनमा सेवा नपाएर निजीमा जानु परेको पक्ष सकारात्मक नभए पनि अस्पतालले गरेका समग्र गतिबिधि प्रशंसनीय रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !