चितवनः हाडजोर्नीको शल्यक्रिया सुरु गरिएको छ । अस्पतालमा चार वर्ष यता चिकित्सकको अभावमा हाडजोर्नीको शल्याक्रिया हुन सकेको थिएन ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेका अनुसार अस्पताल व्यवस्थापन समितिले हाडजोर्नी बिशेषज्ञ नियुक्त गरेर उपचार संगै शल्यक्रिया सुरु गरेको हो । डा. रुपेश झाको नेतृत्वमा हाडजोर्नी बिभाग संञ्चालनमा ल्याईएको हो । यस अघि अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट बरिष्ठ हाडजोर्नी बिशेषज्ञ डा. कृष्ण पौडेल हुँदा बि. सं. २०७३ सालमा हाडजोर्नीको शल्यक्रिया गरिएको थियो ।
पूर्ब पश्चिम राजमार्ग निकट भएकाले अस्पतालमा हाडजोर्नीका बिरामी धेरै आउने गर्दछन् । अस्पतालमा अन्य जटिल प्रकृति र प्रसुतीका शल्यक्रिया पनि हुँदै आएको छ । पूर्बी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेश स्तरीय अस्पताल भएको हो ।
वगालेका अनुसार हाल १५ शैया रहेको सो अस्पताल प्रदेश स्तरको भए संगै ५० शैयाको हुने छ । वि. सं. २०५८ सालमा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक संकलन गरि त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाईएको थियो । हाल सो अस्पतालमा पाँच जना बिशेषज्ञ चिकित्सकले सेवा दिदै आएका छन् ।
अस्पतालमा हाल आकस्मिक, वहिरंग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्सरे, एक्सरे जस्ता सेवा उपलव्ध छन् । अस्पतालमा प्रसुती, वालवालिका, छाला, दाँत लगाएतको बिशेषज्ञ सेवा दिईदै आएको छ । वगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप वनाईदै छ ।