चितवनः मानब सेवाका लागि स्थापना गरिएको लायन्स क्लबले कोरोना संक्रमणको समयमा कोरोना रोकथामका लागि बिभिन्न किसिमको सहयोग गर्दै आएको छ । यसै क्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि टु नेपालले भरतपुर अस्पताललाई भाइरस ट्रान्सफर मिडियम किट (भिटिएम) सहयोग गरेको छ । क्लबका प्रथम डिष्ट्रिक्ट भाईस गभर्नर रामप्रसाद भट्टले र क्लबका कोभिड १९ पोट्रेक्सन डिष्ट्रिक चिफ सिद्धार्थलाल चुकेले अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा १ हजार ४ सय किट सहयोग गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, अस्पताल विकास समितिका सदस्यहरु केशब देवकोटा, रमा घिमिरे, अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी लगायतले उपस्थिति रहेको थियो ।
सो अवसरमा क्लबका प्रथम डिष्ट्रिक्ट गभर्नर भट्टले कोरोना संक्रमणको समयमा लायन्स क्लब सधै साथमा रहेको बताउनुभयो । सुरुवाती समयमा क्लबवले रु. ७५ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सरकारलाई सहयोग गरेको उहाँले जानकारी दिनुभयो । दोस्रो चरणमा किट हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले दिएको अस्पतालका नामका आधारमा आवश्यकता अनुसार किट हस्तान्तरण गरिएको भन्दै उहाँले भरतपुर अस्पतालमा रु २ लाख बराबरको सामान हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले क्लबको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।