चितवनः उपचार प्रभावकारी हुने भएपनि आयुर्वेदतर्फ खासै ध्यान जान सकेको छैन । एलोपेथिक औषधीले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो । तर आयुर्वेद उपचार मार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचार–प्रसार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले मंगलबार आयोजना गरेको आयुर्वेदको विकास सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सभाका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहाल, प्रदेश सभा सदस्य बिजय सुवेदी र रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले आयूर्वेद उपचारमा चेतना जगाउनु आवश्यक रहेको वताउनुभयो । कृतिम औषधीले स्वास्थ्यमा असर गर्ने भएकाले यहाँका महत्वपूर्ण जडीबुटीको प्रयोग गर्दै प्रचार प्रसार गर्नुपर्ने उहाँहरुको भनाई थिययो ।
कार्यक्रममा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कोपिला अधिकारीले केन्द्रमा दैनिक ८०–९० जना बिरामी उपचारका लागि आउने गरेपनि भौतिक संरचना, पर्याप्त दरबन्दी हुन नसकेको बताउनुभयो । प्रयोगशाला र एक्सरे मेसिन समेत नहुँदा बिरामीलाई समस्या पर्ने गरेको अधिकारीले भनाई छ ।
सो केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, स्वासप्रस्वास सम्बन्धी उपचार हुँदै आएको छ ।