चितवनः चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा २ सय २४ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारमा संकलन गरिएका अण्डाबाट ती वच्चा कोरलिएका हुन ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीका ५ र नारायणीका ४ वटा गुँडबाट ३ सय ३६ वटा अण्डा संकलन गरिएको थियो । अण्डा कोरल्नका लागि राखिएको ७० देखि ८० दिनमा बच्चा कोरलिने गर्दछ । गएको बैशाखमा ती अण्डा संकलन गरेर प्रजनन् केन्द्र परिषरमा राखिएको थियो । यस वर्ष अत्याधिक वर्षा भएका कारण प्लाष्टिकले ढाकेर अण्डा राखिएको थियो ।

निकुञ्जले राप्तीमा ८ वटा र नारायणीमा ५ वटा गुँड नदीमा छाडेको थियो । खड्काका अनुसार राप्तीमा ती गुँडबाट १ सय ३० वटा बच्चा कोरलिएका छन् । नारायणीका सबै गुँडहरुमा बच्चा निस्कने वेलामा भल गुँडमा पसे पछि सबै अण्डा क्षती भएको उहाँको भनाई छ । यस वर्ष मौषम बच्चा कोरल्नका लागि उपयुक्त नभएको खड्काले बताउनुभयो । घाम र ताप आबश्यक हुने भए पनि बैशाख यता नियमीत वर्षात भएकाले बच्चा कोरल्नका लागि उपयुक्त बातावरण नवनेको हो ।
हाल सम्म १ हजार ५ सय १५ वटा गोही हुर्काएर बिभिन्न नदीमा छाडी सकीएको छ । यस वर्ष राप्ती नदीमा पचास वटा गोही छाडीएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडीएको हो । गत वर्ष सोही क्षेत्रबाट एक सयबटा गोही छाडीएको थियो ।
विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर हरेक वर्ष नदीहरुमा छाड्ने गरिएको छ । नदीमा छाडीएका मध्ये राप्तिमा मात्र ८ सय ३५ गोही छाडीएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि संख्या वढ्दै जान भने सकेको छैन । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।
सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदुषण बन्दै जाँदा संकटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिंदै गएको छ । हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा संकलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।
तीनै गोहीलाई हुर्काएर नदीमा छोडीन्छ । पाँच देखि छ वर्ष सम्मका गोही नदीमा छाड्ने गरिन्छ । हाल प्रजनन् केन्द्रमा माउ र बच्चाहरु गरेर पाँच सय हाराहारी रहेको खड्काको भनाई छ । प्रजनन् केन्द्रमा रहेका गोहीले पारेका अण्डा भाले नलागेकाले बच्चा कोरलिएका छैनन् । केन्द्रमा एउटा मात्र भाले रहेको र त्यसमा प्रजनन् क्षमता कमजोर भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !