
चितवनः पूर्बी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्य चौकी निर्माणको काम सुरु गरेको छ । नगरपालिकाको एक वडा एक स्वास्थ्य चौकी वनाउने नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी नभएका ७ वटा वडामा स्वास्थ्य चौकी निर्माणका लागि काम सुरु गरिएको हो ।
नगरपालिका प्रमुख प्रभा वरालका अनुसार वडा नम्बर १, ३, ४, ६, ७, ८ र ११ नम्बर वडामा स्वास्थ्य चौकी निर्माणको कामलाई तिब्र बनाईएको हो । वडा नम्बर ३ र ७ मा स्वास्थ्यचौकी शिलन्यासको काम सम्पन्न भई सकेको र अन्य वडाहरुमा पनि दिन जुराएर शिलन्यास गर्ने कामलाई अगाडी वढाईएको उहाँले बताउनुभयो । ६४ हजार जनसंख्या रहेको सो नगरपालिकामा १३ वटा वडा रहेका छन् ।
स्वास्थ्य चौकी निर्माणका लागि जनसंख्याका आधारमा वजेट बिनियोजन गरिएको छ । जनसंख्या ७ हजार भन्दा वढि भएको वडामा रु ६४ लाखको लागतमा र थोरै भएको ठाउँमा रु ३४ लाखको लागतमा स्वास्थ्य चौकी निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
सो नगरपालिकाको वडा नम्बर ५ भण्डारामा १५ शैयाको अस्पताल र वडा नम्बर १० मा सामुदायीक स्वास्थ्य ईकाई रहेको छ । मकवानपुरको मनहरी गाउँपालिकासंग सिमा जोडिएको यस नगरपालिकाका चार वटा वडा पहाडमा पर्दछन् । ती वडा मध्ये दुईवटा चेपाङ्गको वाहुल्यता रहेको छ ।