चितवनः देशको तेस्रो पर्यटकीय नगरी सौराहाका व्यवसायीहरुले होटललाई क्वारेन्टिनको रुपमा संञ्चालनमा ल्याएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईको होटलमा अहिले बिदेशबाट आएका पूर्बी चितवनको जयमंगलाका दुई जनालाई क्वारेन्टिनमा राखिएको छ ।
काठमाडौं, पोखरा पछि तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको यस क्षेत्रमा कोरोना संक्रमण अघि पर्यटकले भरिभराउ हुने गरेको थियो । तर कोरोनाका कारण संकटको वर्तमान अवस्थामा सरकारलाई सहयोग गर्दै यहाँका होटलहरु क्वारेन्टिनको रुपमा प्रयोगमा ल्याइएको हो ।
क्षेत्रीय होटल संघले यसअघि सौराहाका होटलहरु क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेको थियो । सोही घोषणाको प्रतिबद्धता पुरा गर्न र सरकारलाई सहयोग गर्न क्वारेन्टिनका लागि होटल प्रयोगमा ल्याईएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
उहाँले आफ्नै होटलमा भारतको दिल्लिबाट आएका दुई जनालाई राखेर क्वारेन्टिनको सुरुवात गरेको बताउनुभयो । भट्टराईका अनुसार नीजि गाडीमा उनीहरु दिल्लिबाट आएका हुन । जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनमा शुल्क तिरेर बस्न चाहनेहरुका लागि होटलको व्यवस्था मिलाईएको हो । सौराहाका २६ वटा होटललाई क्वारेन्टिनको रुपमा प्रयोगमा ल्याईनेछ । संघले सरकारलाई यहाँका होटलहरुको विवरण पठाएको थियो ।
सरकारले तोकेको शुल्क अनुसार व्यवसायीहरुले शुल्क लिन पाउनेछन् । संघका अध्यक्ष भट्टराईका अनुसार सौराहामा रहेका होटलहरुको स्तर अनुसार रु २ हजार देखि ५ हजारसम्म दैनिक खर्च लाग्नेछ । सो रकम बरावरमा चियाकफी, नास्ता, बिहान वेलुका खानाको व्यवस्था हुने उहाँले बताउनुभयो । दिनमा एक छाक मासु सहितको खाना र एक छाक सादा खाना हुनेछ ।
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटकहरु सौराहा आउने गर्दछन् । लकडाउन संगै सौराहाका सबै होटल व्यवसाय ठप्प छन् ।

प्रतिक्रिया दिनुहोस !