काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ । नोभेल कोरोना भाइरसका ४३४ संक्रमित थपिए संगैं संक्रमितको संख्या वढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४३४ संक्रमित थपिएका हुन् ।
हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित गत बिहीबार ६७१ जना थपिएका थिए भने असार १० मा ६२९ कोरोना संक्रमित थपिएका थिए ।
देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कुल कोरोना संक्रमितको संख्या ११ हजार १६२ नाघेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ६५० जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३१२ डिस्चार्ज भएका छन् । जसमा १९ महिला र २९३ पुरुष रहेका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा ७४ हजार २२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ४८६ कोरोना संक्रमितहरु रहेका छन् ।