
चितवन : पूर्बी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेश स्तरीय अस्पताल हुने भएको छ । बागमती प्रदेशले सबै जिल्लामा एउटा प्रदेश स्तरीय अस्पताल वनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल वनाउन लागेको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु वगालेका अनुसार हाल १५ शैया रहेको सो अस्पताल प्रदेश स्तरको हुने भएको हो । वि. सं. २०५८ सालमा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक संकलन गरि त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाईएको थियो । हाल सो अस्पतालमा पाँच जना बिशेषज्ञ चिकित्सकले सेवा दिदै आएका छन् ।
अस्पतालमा हाल आकस्मिक, वहिरंग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्सरे, एक्सरे जस्ता सेवा उपलव्ध छन् । अस्पतालमा प्रसुती, वालवालिका, छाला, दाँत लगाएतको बिशेषज्ञ सेवा दिईदै आएको छ । वगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप वनाईदै छ ।
उहाँले प्रदेश स्तरको भए संगै ५० शैया भन्दा माथिको अस्पताल वन्ने वताउनुभयो । थप बिशेषज्ञ सेवा सहितको सुबिधा सम्पन्न अस्पताल बन्ने वगालेको भनाई छ ।
बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका नीति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतिश बिष्टका अनुसार यस क्षेत्रको जनघनत्वका आधारमा शैया तय हुने छ । आउँदो वर्ष अस्पतालमा प्रसुती भवन निर्माणका लागि रु १ करोड ५० लाख वजेट विनियोजन भईसकेको उहाँले जानकारी दिनुभयो । वहुवर्षिय योजना अन्तर्गत सो भवन वन्नेछ ।
हाल वागमती प्रदेशका ८ जिल्लामा प्रदेश स्तरका अस्पताल रहेका छन् । थप पाँच जिल्लामा अस्पताल निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पूर्बी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिका संगै मकवानपुरका सिमा क्षेत्रका जनतालाई सो अस्पतालले सेवा दिन सक्ने छ । त्यस क्षेत्रमा बिशेषज्ञ अस्पताल नहुँदा बिरामी भरतपुर आउन वाध्य छन् ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँको पुरानो सरकारी अस्पतालको प्रदेश सरकारले स्तरोन्नति गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘हामीले पटकपटक सरकारलाई स्तर वृद्धिको लागि आग्रह गरेका थियौँ’, प्रमुख वनले भन्नुभयो, ‘अहिले आएर प्रदेश सरकारले हाम्रो आग्रह सुनेको छ ।’
उहाँले अस्पतालको स्तर बृद्धिमा आवश्यक सहयोगमा रत्ननगर नगरपालिका लागि पर्ने बताउनुभयो । सो अस्पताल रत्ननगर नगरपालिकाको टाँडी बजार नजिकै रहेको छ ।