चितवनः नेपाल पत्रकार महासंघ चितवन शाखाले आफ्ना सदस्य र कृयाशिल पत्रकारको दुर्घटना बिमा गरेको छ । कालिका नगरपालिकाको सयोगमा २ सय ५७ जना पत्रकारको दुर्घटना बिमा गरेको हो ।
दुर्घटना बिमाका लागि महासंघ र नगरपालिका बिच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महासंघका तर्फबाट अध्यक्ष राधेश्याम खतिवडा र नगरपालिकाका तर्फबाट प्रमुख खुमनारायण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । सो अबसरमा श्रेष्ठले यस वर्ष रु १ लाख बिमाका लागि सहयोग गरिएको बताउनुभयो । यस रकमलाई नगरपालिकाको वजेटमा राखेर आगामी वर्षहरुमा यसलाई निरन्तरता दिईने उहाँले बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो “जिल्लामा काम गर्ने पत्रकारका लागि सधैका लागि दुर्घटना बिमा कालिका नगरपालिकाले गर्ने गरी नितिगत निर्णय गर्दैछौं ।” महासंघका अध्यक्ष खतिवडाले पत्रकारहरुको दुर्घटना हुँदा रु ३ लाख पाउने र घाईते भएमा रु ३० हजार सम्मको उपचार खर्च पाउने गरि बिमा गरिएको बताउनुभयो । उहाँका अनुसार तीन वटा बिमा कम्पनीको कोटेसन लिएर जनरल ईन्स्योरेन्स कम्पनी संग सम्झौता संगै असार १ गतेबाट लागु हुने गरि बिमा गरिएको छ ।
महासंघले आफ्ना सदस्य र क्रियाशिल पत्रकारहरुको कोरोना बिमा प्रेस रजिष्टार कार्यालय हेटौडासंग सहकार्य गरि यस अघिनै गरिसकेको छ । जिल्लामा पाँचवटा दैनिक पत्रिका, चारवटा टेलिभिजन, २२ वटा एफ एम रेडियो, २४ वटा अनलाईन र १३ वटा साप्ताहीक पत्रिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !