चितवनः देशको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहाका होटल संञ्चालकहरुले पहिलो चरणमा २९ वटा होटल क्वारेन्टिनका लागि दिन तयार भएका छन् । उनीहरुले दिएका ती होटलमा पाँच सय जना अट्ने जनाएका छन् ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईका अनुसार होटलको सूचि स्वास्थ्य मन्त्रालय पठाई सकीएको छ । सूचिमा होटलका दर रेट समेत उल्लेख छन् । उहाँका अनुसार प्रतिव्यक्ति रु २ हजार देखि ३ हजार सम्म खाना र बसाईको दररेट राखिएको छ ।
भट्टराईले भन्नुभयो “हामी सौराहामा पाँच हजार क्षमता सम्मको होटल दिन सक्छौ ।”सौराहामा १ सय २० वटा होटल रहेका छन् । लकडाउन संगै पर्यटक नभए पछि सबै होटल बन्द रहेका छन् ।
यसै गरि भरतपुर क्षेत्रका २२ वटा होटलले क्वारेन्टिनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । होटल तथा रेष्टूरेन्ट व्यवसायी संघ चितवन र होटल व्यवसायी संघ चितवनले ९÷९ वटा होटल क्वारेन्टिनमा दिनका लागि तयार भएको जनाएका छन् ।
होटल तथा रेष्टूरेन्ट व्यवसायी संघका अध्यक्ष दिपक ढकालका अनुसार यसका अतिरिक्त नेपाल होटल ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले आफ्नो दुईवटा होटल पनि क्वारेन्टिनमा दिनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्नु भएको छ । यस अघिनै अन्य दुईवटा होटल पनि क्वारेन्टिनको रुपमा प्रयोगमा आईसकेको छ ।
ढकालका अनुसार बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल आसपासका क्षेत्रमा रहेका होटललाई भने त्यहीको बिरामी राख्नु पर्ने भएकाले क्वारेन्टिनमा दिने सूचिमा राखिएको छैन । यस क्षेत्रका होटलले प्रतिव्यक्ति रु १ हजार देखि १ हजार ५ सय सम्म दररेट राखेका छन् ।
महासंघका बरिष्ठ उपाध्यक्ष चुकेले स्थानीय प्रशासनलाई निर्णय गरिदिन आग्रह गरिएको बताउनुभयो । पहिलो चरणका होटलको टुङ्गो लागे संगै अन्य होटलहरु क्वारेन्टिनमा दिन तयार हुने चुकेको भनाईछ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सबै होटललाई स्पष्ट रुपमा दररेट राखेर सूचि पठाउन आग्रह गरिएको बताउनुभयो । हाल सम्म होटलको माग नभएको भन्दै उहाँले माग भएमा तत्काल निर्णय गरेर सूचि सार्बजनीक गरिने बताउनुभयो । हाल जिल्लामा बाहिरबाट आएका व्यक्तिहरु स्थानीय क्वारेन्टिनमा बसिरहेका छन् ।