चितवनः कोशिटप्पु राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याईएका अर्ना न फस्टाउन सकेका छन न त मोटाउन नै सकेका छन् । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर वनाएर अर्ना राखिएका छन् ।

बि. सं. २०७३ सालमा १२ वटा आरक्षबाट र ३ वटा जावलाखेल चिडियाखानाबाट अर्ना ल्याईएका थिए । त्यतीबेला ३ भाले र १२ वटा पोथी ल्याईएका हुन । त्यही वर्ष आएको बाढी अर्ना राखिएको क्षेत्रमा पसेपछि केही वगाएको थियो भने रहेका अर्ना बिरामी परेका थिए । त्यसै वर्ष १५ मध्ये ६ वटा मरेका थिए । चिडियाखानाका सबै र कोशीबाट ल्याईएका ३ वटा मरेका थिए । चार वटा बच्चा थपिएर हाल सो क्षेत्रमा १३ वटा अर्ना रहेका छन् । जस मध्ये ७ वटा माउ पोथी र २ वटा भाले माउ रहेका छन् । पछि जन्मिएका वच्चा मध्ये ३ वटा भाले र एउटा पोथी छ ।

चार वर्ष बितिसक्दा सातवटा पोथीबाट चार वटा बच्चा मात्र जन्मीएका छन् । तत्कालिन समयमा ५ भाले सहित २५ अर्ना ल्याउने भनिएको भए पनि ल्याउन सकीएको छैन । जसले गर्दा संख्या वढाएर फष्टाउन सकेको छैन भने मोटाउन पनि सकेका छैनन् ।

निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. बिजय श्रेष्ठका अनुसार कोशीका जस्ता मोटा हुन नसके पनि स्वास्थ रहेका छन् । खुल्ला नछाडीएकाले पनि मोटा हुन नसकेको हुन सक्ने उहाँको भनाई छ । भर्खरका उमेरका भएको र बातावरण फरक पर्नु अर्को कारण हुन सक्ने श्रेष्ठ वताउनुहुन्छ । नियमीत दाना दिईएको, औषधि उपचार भईरहेको भन्दै उहाँले राखिएको क्षेत्रफल वढे पछि केहि फरक आउन सक्ने वताउनुभयो । उहाँले ती अर्ना कोशीका जस्ता नभएर घरमा पालेका भैसी जस्ता देखिएको जानकारी दिनुभयो । अहिले पनि केही अर्ना व्याउने भएकाले बिस्तारै संख्या वढ्दै जाने उहाँको भनाई छ ।

निकुञ्जको पूर्बी क्षेत्र हेर्दै आउनु भएका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले खुल्ला ठाउँमा वथानमा कुद्ने, चर्ने र कोशी नदीमा खेल्ने अर्ना यहाँ खुल्ला खोरमा रहेकै कारण त्यहाँको जस्तो मोटा हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “तर पनि त्यस्तो दुव्ला छैनन् ।”बसि रहेको ठाउँ फरक हुँदा पनि मोटाउन नसकेको उहाँको भनाई छ । ती अर्नामा बाढीका कारण रोग देखिए पछि बचाउननै कठिन भएको थियो । थप अर्ना ल्याउन भने नसकीएको उहाँको भनाई छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार हाल भैरहेको खोरलाई करिब १५ हेक्टर थप गरि पानी र घाँसको प्रबन्ध गर्न लागिएको छ । यस अघि अर्ना राख्नका लागि ३० हेक्टरमा तारवार गरि व्यवस्थापन गरिएको छ । घोल थुनेर पानी ल्याउने तयारी गरिएको छ । यी जनावरलाई पानीमा खेल्नु पर्ने भएकाले थोरै पानीले नपुग्ने भन्दै उहाँले पानी र घाँसको प्रसस्त व्यवस्था गर्ने तयारीमा आफुहरु लागेको वताउनुभयो । खुल्ला परिवेशमा खेलेको, खाएको जस्तो थुनेको ठाउँमा सम्भव नहुने उहाँको भनाई छ ।

कम्तिमा ५० वटा वनाएर वथानमा छोड्न सकेमा बच्न सक्ने उहाँले बताउनुभयो । कोशीमा बाघ नभएको तर यहाँ बाघ भएकाले वच्नका लागि राम्रो वथान जरुरी रहेको रुपाखेती वताउनुहुन्छ । अहिले भएको ठाउँ उपयुक्त भए पनि सर्बयुक्त नभएको भन्दै राम्रो वनाउन आँफुहरु लागि परेको बताउनुभयो । थप अर्ना ल्याउने बिषय बिभागको भएको रुपाखेती वताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !