
काठमाडौंः लकडाउनलाई विस्तारै खुकुलो बनाउने तयारी गरेको सरकारले आन्तरिक विमानस्थल सञ्चालनको पनि तयारी गरेको छ । आन्तरिक विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले विमान यात्रु, विमान कम्पनी, कर्मचारी, विमानस्थलका लागि सुरक्षाको मापदण्ड अपनाउन निर्देशिका नै जारी गरिसकेको छ ।
केही दिनअघि सार्वजनिक गरिएको मापदण्डअनुसार कोभिड १९ संक्रमणबाट बच्न प्राधिकरणले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्नुपर्नेलगायत व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । विमानस्थल खुलाउने तयारी स्वरूप निर्देशिका ल्याइएको एक अधिकारीले बताए । “सम्भवतः असार १ गते नभए असार पहिलो साता आन्तरिक विमानस्थल सञ्चालन गर्ने तयारी छ,” उहाँले भन्नुभयो । नियमित अन्तर्राष्ट्रिय हवाई सेवा भने अलि ढिला सञ्चालन गर्ने सरकारको तयारी छ ।