कैलालीः धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना संक्रमित निको नहुँदै डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचाररत बाबुछोरी सहित ६ जना कोरोना संक्रमितलाई शुक्रबार डिस्चार्ज गरेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।
‘स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो ’श्रेष्ठले भने ‘लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने निर्देशिका आएको छ । हामीले त्यही निर्देशिकामा टेकेर डिस्चार्ज गरेका हौँ ।’
अस्पतालले शुक्रबार अछामको मेल्लेख गाउँपालिका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका– १ का २० र २७ बर्षीय पुरुष, वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरेको हो ।
उनीहरु भारतबाट जेठ ८ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए । सूचना अधिकारी श्रेष्ठले चिकित्सकको सल्लाहमा उनीहरुलाइ डिस्चार्ज गरेको बताउनुभयो ।
सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले भने उनीहरु सबैको एक पटक पीसीआर विधिबाट परीक्षण गरेको र त्यसपछि नगरेको जानकारी दिनुभयो ।
‘पहिलो पटकमा पीसीआर पोजेटिभ आएका ती ६ जनाको दोस्रो पटक परीक्षण नगरी अस्पतालले डिस्चार्ज गरेको हो ।
चिकित्सकहरुले उनीहरुलाई अझै दुई सातासम्म घरमा सुरक्षित ढंगबाट बस्न सुझाव दिएर डिस्चार्ज गरेको बताएका छन् । अस्पतालले ६ जनालाई अलपत्र पारेकोसमेत आरोप लागेको छ ।
शुक्रबार दिउँसो २ बजे डिस्चार्ज भएका उनीहरु साँझ अबेरसम्म धनगढीमै अलपत्र अवस्थामा छन् ।