काठमाडौंः उपत्यकाका तीनै जिल्लामा लकडाउनलाई थप कडा वनाईने भएको छ । आज उपत्यकाका ती जिल्लाका प्रमुख जिल्ला अधिकारी बैठकले लकडाउनको कडाइका साथ पालना गराउनुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । लकडाउन उलङ्घन गर्ने क्रम बिहीबार बढेपछि काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठक बसेको थियो ।

बैठकले सरकारले जेठ ३२ गतेसम्म कायम गरेको लकडाउनलाई कडाइका साथ पालना गराउने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो।
“सरकारले ३२ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सरकारको निर्देशनको अवज्ञा गर्ने छुट कसैलाई छैन । लकडाउन खुकुलो बनाउने अधिकार हामीलाई छैन,” उहाँले बैठकको निष्कर्ष सुनाउँदै भन्नुभयो “सरकारले तोकेको अवधिसम्म लकडाउनको पालना सबैले गर्नुपर्छ । सरकारको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो सामूहिक निचोड हो,” ।

उपत्यकामा सङ्क्रमणको जोखिम बढेकाले लकडाउन उलङ्घनमा कडाइलाई कायमै राखिने उहाँले बताउनुभयो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि सरकारको निर्देशनअनुसार नै लकडाउनलाई पालना गराइने बताउनुभयो । “हामी छलफलमै छौं । लकडाउनका सन्दर्भमा पीएमसीले निर्णय गर्ने कुरा होइन । क्राइसिस म्यानेजमेन्ट सेन्टर सीएमसीले नै निर्णय गर्छ । अहिलेको अवस्थामा लकडाउनको पालना हुनुपर्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !