–दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुर बस्ने भनिएकी कोरोना संक्रमित महिला केही दिनअघि श्रीमान्सँगै हेटौँडा गइन् । उनीहरुको यात्रा इतिहास हेर्दा ट्रक चढेर त्यहाँसम्म पुगेको देखिन्छ ।
त्यतिमात्रै होइन कोरोना संक्रमण भई उपचाररत केही व्यक्तिहरु सीमा नाकाबाट ट्रक चढेर घरसम्म आएको भेटिएको छ । भारतीय सीमा नाका र तराईका प्रभावित जिल्लाबाट ट्रक चढेर आउनेहरु बढी शंकास्पद देखिने प्रशासनको भनाइ छ ।
एम्बुलेन्स प्रयोग गरेर वा स्थानीय तहले आफूले जिम्मा लिएर नेपाल भित्रनेबाहेकका मानिसहरु सीमा नाकाबाट ट्रक चढेर आएको पाइन्छ । यात्रु ओसार्ने साधन नचल्नु र विकल्पको रुपमा ढुवानीका साधन ट्रक उपलब्ध हुनुले यसैमा लुकीछिपी आउने गरेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई बताउँछन् ।
‘यथास्थानमा बसौँ खान–बस्न समस्या छ, घरसम्म पुगौँ भन्नेहरुका लागि ट्रक नै सहज छ, त्यसैले जोखिम ट्रकको यात्रा गर्नेहरुमा बढी छ’, प्रजिअ भट्टराईले भने । ट्रकहरु भारतीय सीमा नाका र तराईका जिल्लाबाट पहाडी क्षेत्रमा ढुवानी सामान बोकेर गुड्ने हुँदा कोरोना संक्रमण अड्कल नगरिएका ठाउँमा पनि भेटिन थालेको छ ।
‘एम्बुलेन्समा आवतजावत गरौँ बिरामी होइन, बिरामी नभएको मान्छे कसरी जाऊँ भन्दा अहिले चलेको भनेको बढीजसो ट्रकहरु नै हो, त्यसैले सावधानी नअपनाउँदा ट्रक चढेर घर आएकाहरु नै बढी जोखिममा छन्’, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने ।
लकडाउनको सुरूसुरूको समयमा प्रहरी प्रशासनले ट्रकमा यात्रु नराख्न भने पनि अहिले कडा जाँच नहुँदा केही मानिसहरु ट्रकमा यात्रा गरिरहेका छन् । यात्रु संक्रमित भएको अवस्थामा हुने थप जोखिमबारे ट्रकका चालक, सहचालकमा पनि कम ज्ञान हुँदा समस्या भएको प्रमुख डल्लाकोटीले बताए ।
उद्धार गरिएको बसमा संक्रमित
जेठ १० गते भारतको हरिद्वारबाट नेपाल आएका देवचुली–१, नवलपुरका वर्ष १९ का युवा पश्चिम नेपालको गौरीफन्टा नाकाबाट आएको पत्ता लागेको छ । नवलपुरका जनस्वास्थ्य प्रमुख केशव चापागाईंले स्थानीय तहले गरेको उद्धारको क्रममा युवा बस चढेर आएको पाइएको छ । उक्त बसमा सवार अन्य व्यक्ति क्वारेन्टाइनमा रहेको र स्वाब संकलन गरिएको छ ।
नाकामा कडाइ
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवन प्रहरीले कडाइ गरेको छ । मुख्यरुपमा जिल्ला नाकाहरुमा चेकजाँच कडा पारिएको छ । अरु दिनझैँ सामान्य सोचेर चितवनतर्फ आएका नवलपुरका जनतालाई फर्काइएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रनि रविनबाबु रेग्मीले स्वास्थ्यकर्मी र बिरामीलाई मात्रै चितवन प्रवेश गर्न दिइएको बताए । नारायणगढ, पुल्चोकमा गरिएको जाँचको क्रममा सयौँ मोटरसाइकल, साइकल र केही निजी गाडीहरु फिर्ता भएका हुन् ।
हरिद्वारबाट आएकाको कोरोना पुष्टि
भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा नमुना परीक्षण गरिएका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतको हरिद्वारबाट नेपाल आएका देवचुली–१, नवलपुरका वर्ष १९ का युवाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
हाल उनलाई भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ । नवलपुरका युवा थपिएसँगै भरतपुर अस्पताल मातहतको आइसोलेसनमा ७ जना उपचाररत छन् ।
यसअघि जेठ ९ गते भरतपुर–१२ बाट हेटौँडा गएकी महिलामा कोरोना पुष्टि भएको थियो । हेटौँडामै गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएपछि ती महिलालाई भरतपुर ल्याइएको थियो । अन्य संक्रमितहरुमा भरतपुर–६, केशरबागका एकै परिवारका तीन जना र नवलपुरकै दुई जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराइरहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
नवलपुरका १९ वर्षीय युवासँगै नमुना परीक्षण गरिएका बाँकी १०४ जनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी पौडेलले बताए । चितवन पोष्ट