काठमाडौंः भ्रष्टाचारको अभियोगमा नेपाली सेनाले एकजना प्रमुख सहायक रथी (जर्नेल) र अर्का महासेनानी (कर्नेल)लाई हिरासतमा लिएको छ । वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा हुँदा आर्थिक अनियमितता गरेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको नेपाली सेना उच्च स्रोतले जानकारी दिएको छ ।

हिरासतमा लिइएका जर्नेल प्रयोगजंग राणा हुन् । नेपाली सेनाले सैनिक कल्याणकारी निर्देशनालयकै महासेनानी नवीन सिलवाललाई छानबिनका लागि हिरासतमा लिएको जनाएको छ । उनीहरुविरुद्धको कारवाहीका लागि कोर्ट अफ इन्क्वाइरी गठन गरिँदैछ ।
उनीहरुलाई तीन दिनदेखि हिरासतमा राखिएको छ । प्रमाण नष्ट नहोस् भनेर उनीहरुलाई हिरासतमा राखिएको हो । २०४४ सालमा नेपाली सेनामा भर्ना भएका राणा २६ बेसिकका अधिकृत हुन् । कोर्ट अफ इन्क्वाइरी बोर्डले दिएको प्रतिवेदनका आधारमा उनीहरुलाई कारवाही गरिनेछ ।

निकैपछि, नेपाली सेनाभित्र भ्रष्टाचारको अभियोगमा उच्च अधिकारीलाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको यो पहिलो भएको सैनिक स्रोतले जानकारी दिएको छ । सप्रमाण गोप्य उजुरीका आधारमा अन्य उच्च अधिकृत पनि निगरानीमा रहेको र निकट भविष्यमै छानबिन हुने संकेत उच्च सैनिक स्रोतले जनाएको छ ।

यसअघि समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचारणसम्बन्धी कसुर गरेको अभियोगतमा तीनजना अधिकृतसहित पाँच जनालाई दोषी ठहर गर्दै कारवाही गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित उक्त महाविद्यालयमा आर्थिक अनियमितता छानबिन गर्न सहायक रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वाइरी गठन गरिएको थियो ।

सोही बोर्डले दिएको प्रतिवेदनको आधारमा समरी जनरल सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

“महा सेनानी भुपालमान अधिकारीले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गराई सैनिक ऐन, २०६३ को दाफ ४९ को खण्ड ९क०, दफा ५२ को खण्ड ९६० र ९झ० बमोजिमको कसुरमा दोषी ठहरिएकाले सैनिक ऐनमा भएको व्यवस्थाअनुसार २ महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने,” नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साथै निजले गैर कानुनी रुपमा आर्थिक उपार्जन गरि लिए–खाएको ठहरिन आएको विगो रकम रु एक करोड ८५ लाख ४० हजार १०८ रुपैयाँ असुल गर्ने ।”

प्रतिक्रिया दिनुहोस !