चितवनः काठमाडौंमा कार्यक्षेत्रमा रहेका प्रहरीलाई कोरोना संक्रमण देखिए पछि जिल्लामा उच्च सतर्कता अपनाईएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङ्का अनुसार जोखिममा काम गरिरहनु पर्ने भएका कारण उच्च सतर्कता अपनाईएको हो ।
उहाँले जिल्लामा रहेका १५ जना प्रहरीको पिसिआर परिक्षण र एक सय जनाको ¥यापिट डाईग्नोटिक टेष्ट गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मातहतमा रही लोथर, नारायणगढको पुलचोक, मुग्लिन, कार्यालयकै मुद्धा फाँट, अस्पतालहरु, बिभिन्न स्थानमा रहेका क्वारेन्टाईनहरुमा कार्यरत प्रहरीहरुको परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।
यो संगै कार्यालयले प्रहरी अधिकृत देखि जवान सम्मलाई सावुन पानीले हात धुन, कार्यक्षेत्रबाट फर्किए पछि आफ्नो पोशाकलाई धोएर निर्मलिकरण गर्न, कार्य क्षेत्रमा रहेको समयमा सामाजिक दुरी कायम गरि आफ्नो काम सम्पन्न गर्न लगाईएको गुरुङ्ले जानकारी दिनुभयो । कोरोना संक्रमणको समय भएकाले अहिले नियमीत गरिने कवाज समेत वन्द गरिएको उहाँले बताउनुभयो । यस्तै कार्यक्षेत्रमा जाँदा नियमीत माक्सको प्रयोग गर्ने, हेण्ड सेनिटाईजरको, पन्जाको प्रयोग अनिवार्य गर्न लगाउने गरिएको छ ।
प्रहरीको मोवाइल सवारीमा दुई जनालाई पीपीई सहितका सुरक्षा सामग्री लगाएर राख्ने गरिएको छ । कसैलाई समात्नु परे वा तुरुन्तै एक्सनमा जानुपरे उनीहरुलाई पनि पठाउने र थप मद्धत पनि सँगै राख्ने गरिएको गुरुङ्ले बताउनुभयो ।
कोरोनको संक्रमण वढ्दै गएको समयमा प्रहरीले व्यक्तिगत सुरक्षाका साधन पीपीई ५० थानको व्यवस्था गरेको छ । जिल्लामा रहेका प्रहरीलाई पिपिई अपुग भएको भए पनि थप व्यवस्था गर्ने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । मास्क, सेनिटाईजरहरु बिभिन्न संघ संस्थाहरुले सहयोग गरेको उहाँले बताउनुभयो ।
प्रहरीहरु स्वास्थ्यकर्मीभन्दा पनि अग्रपंत्तिमा रहेर काम गरिरहेको उहाँको भनाई छ । अहिले जिल्ला प्रहरी कार्यालयमा करिब २ सय ५० को हाराहारीमा प्रहरी छन् । जिल्लाभर प्रहरीका ६६ इकाइमा गरेर ८ सय जना प्रहरी कार्यरत रहेका छन् ।