अहिले सर्वत्र कोरोनाको सन्त्रास छ । कोरोना भाइरसको संक्रमण भएमा केही साझा लक्षण देखिन्छन् । जस्तो कि उच्च ज्वरो, रुघा, सास फेर्नमा कठिनाई ।

कोरोनाको भाइरसले फोक्सोलाई प्रभावित बनाउने र सास फेर्न गाह्रो हुने देखिएको छ । यसैले अहिले कुनै कारणवस सास फेर्नमा कठिनाइ भयो भने हाम्रो मनमा ढ्याङ्ग्रो बज्न थाल्छ, कतै मलाई पनि कोरोनाको संक्रमण भएन ?

तर, कोरोनाको संक्रमणले मात्र सास फेर्नमा कठिनाइ हुने होइन । खासगरी हिँडडुल गर्दा वा शारीरिक काम गर्दा सास बढ्न सक्छ । यसको अनेक कारण हुनसक्छ ।

खासगरी शरीरलाई आवश्यक अक्सिजन पर्याप्त मात्रामा आपूर्ति हुन नसक्दा पनि सास बढ्ने वा स्याँ स्याँ हुने गर्छ ।

अक्सिजनको मात्रा अपुग भएपछि फोक्सोमा दबाव पर्छ । त्यसैले अक्सिजन आपूर्तिका लागि फोक्सोले श्वासप्रश्वासको गति बढाइदिन्छ ।

अर्को कुरा, शरीरमा रातो रक्तकणको कमी भएमा पनि सास बढ्ने समस्या देखिन्छ । अक्सिजनलाई एक स्थानबाट अर्को स्थामा पुर्याउने रक्तकण अर्थात हेमोग्लोबिनको कमी छ भने अक्सिजन आपूर्तिमा बाधा हुन्छ र स्याँ–स्याँ हुन्छ ।

आजकाल मानिसको जीवनशैली फेरिएको छ । धेरैले शारीरिक परिश्रम गर्दैनन् र व्यायामहरु पनि पर्याप्त मात्रामा गर्दैनन् ।

फोक्सोको संक्रमण जस्तै निमोनिया वा टिबीको कारण पनि सास फेर्नमा कठिनाई हुन्छ ।  श्वास नली वा त्यसको शाखाहरु सुन्निने पनि यसको अर्को एक कारण हो जसलाई मेडिकल भाषामा एस्थमेटिक ब्रोंकाइटिस भनिन्छ ।

कहिलेकाहीँ  श्वासनलीमा कुनै समस्या वा छातीमा ट्युमरको दबाबले पनि स्याँ–स्याँ हुने गर्छ । त्यस्तै विभिन्न दुर्घटनामा लाग्ने छातीको चोटको सहि उपचार नभएमा भित्र रगत जम्मा हुन्छ र त्यसले फोक्सोमा दबाब पर्छ ।

मुटु कमजोर छ वा हर्टअट्याकको कारण मुटुको कुनै भाग कमजोर वा नष्ट भएको छ भने यस्तो कमजोर मुटुले रगत वा पानीको साधारण भार पनि उठाउन सक्दैन र सास फेर्न गाह्रो हुन्छ । त्यसमा यदि मोटोपना पनि छ भने स्थिती अझै कष्टकर हुन्छ ।

प्रतिक्रिया दिनुहोस !