
ठोरी : पर्साको ठोरीमा दशगजा भित्रै टावरसहित सुरक्षा पोस्ट बनाउने तयारीबाट भारत पछि हटेको छ । ठोरी ४ बिजयबस्तीमा पर्ने नेपाल भारत सीमाको दशगजा भित्र स्थानियले टावरसहित सुरक्षा पोस्ट बनाउने नदिने अडान लिएपछि भारत पछि हटेको हो ।
नेपाल भारत सीमाको दशगजा भित्र नै भारतले टावरसहित सुरक्षा पोस्ट निर्माण गर्न शुरु गरेको थियो । तर स्थानीयले अवरोध गरेपछि भारतिय पक्षका सिमा सुरक्षा बल, बिहार पुलिस, वनको कर्मचारीहरु र नेपाली पक्षका स्थानीय, सशस्त्र प्रहरी, जनपथ प्रहरीसहितको टोलीबीच छलफल भएको थियो । छलफलको क्रममा दुबै पक्षबीच रसाकसी नै भएको थियो ।
नेपाली पक्ष दशगजा भित्र भौतिक संरचना एक इन्च पनि भुमि नदिने अडान राखेपछि केहीबेर रसाकसी भएको थियो । लामो छलफलपछि भारत दशगजाबाट ३० मिटर पर आफ्नै भुमिमा सुरक्षा पोस्ट बनाउन सहमत भएको हो ।
सोमबार स्थानियले दशगजा भित्र भौतिक संरचना बनाउन लागेको भन्दै अवरोध गरेपछि भारत २५ मिटरपछि सर्न तयार भएको थियो । तर अझै पनि दशगजा भित्र नै पर्ने भन्दै नेपाली पक्षले पोस्ट निर्माण गर्न नदिने अडान लिएका थिए । नेपाली पक्षको अडानपछि भारत ३० मिटर पर आफ्नै भुमिमा सुरक्षा पोस्ट बनाउन सहमत भएको ठोरी नागरिक समाजका अगुवा लाल बहादुर श्रेष्ठले बताए ।