काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रभित्र रहेको महानगरीय ट्राफिक प्रभागका सबै प्रहरीको कोरोना परीक्षण भोलिबाट सुरु गरिने भएको छ । चिकित्सकले केही समय कुरेर परीक्षण गर्दा जाँच प्रभावकारी हुने बताएपछि भोलिबाट परीक्षण गरिन लागेको हो ।
गएराति कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । जसमा एकजना प्रहरी जवान र अर्को सई थिए ।
उनीहरुको सशस्त्र प्रहरी बलको कोविड–१९ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । कोरोना देखिएपछि वृत्त, ट्राफिक प्रभाग सिल गर्नुका साथै र उनको सम्पर्कमा आएका सबै प्रहरीलाई क्वारेनटाइनमा राखिएको छ ।
कोरोना परीक्षणको रिपोर्ट नआएसम्म उनीहरुलाई क्वारेनटाइनमै राखिनेछ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले कालीमाटी वृत्तले गर्दै आएको जिम्मेवारी नजिकका अन्य प्रहरी युनिटलाई दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षणपछि रिपोर्ट नेगेटिभ आएकालाई फिल्डमा खटाउँछौं । कसैको पोजेटिभ आए उपचारमा लैजान्छौं ।”
कालीमाटी वृत्तमा डीएसपीको कमान्डमा ९१ जना र ट्राफिक प्रभागमा इन्सपेक्टरको कमान्डमा ५४ जना कार्यरत छन् ।