काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्तो देशले तथाकथित, देखौवा राष्ट्रवाद वा लम्पसारवादको बाटो समात्न नहुने बताएका छन् । प्रधानमन्त्री ओली लिपुलेकसहितको नक्सा प्रकाशित गर्दा या राष्टर्वादको कुरा गर्दा तथाकथित राष्ट्रवादको आरोप लागेको विशेषण पाएको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कहिलेकाहीँ फलानो सरकार ढल्नै लागेको थियो फलानो राजदूतले अड्याइदिएको भन्नेजस्ता टिप्पणी हुने स्मरण गराए ।
“हामी कहिलेकाहीँ सुन्छौं– जानैजानै लाग्याथ्यो, फलानो देशको राजदूतले भूमिका खेलेर फेरि अड्याइदियो । अहिलेको सन्दर्भमा नेपालको स्वाभिमानमाथि यस्ता खालका कमजोर, निम्छरा वचनहरू कुनै पनि देशले नबोलिदिए राम्रो हुन्थ्यो । यो देश नेपाली जनताले बनाएको हो, कुनै पनि देशको आशीर्वादबाट बन्ने, टिक्ने, अडिने, ढल्ने, ढालिने, कल्पना नगरे हुन्छ । यो नेपाली जनताको इच्छाको प्रकटीकरण हो,” उनले भने ।