विराटनगरः प्रदेश १ मा एकजना टेलिभिजन पत्रकारमा कोरोना संक्रमण देखिएको छ । संक्रमित पत्रकार रिर्पोटिङको क्रममा भुल्के क्षेत्रको रेडजोन ऐरियासम्म पुगेका थिए । तर, उनी भुल्केभन्दा बाहिरका बासिन्दा हुन् । उनको स्वाब वीपी प्रतिष्ठान धरानस्थित ल्याबमा परीक्षण गरिएको थियो । संक्रमित पत्रकार काठमाडौंबाट संचालन हुने टेलिभिजनका उदयपुर संवाददाता हुन् ।

उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पत्रकारलाई प्रदेश सरकारले स्थापना गरेको कोशी कोरोना अस्पताल विराटनगर ल्याइँदै गरेको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिनुभयो ।
यसअघि त्रियुगा नपाको वडा नम्बर ३ भुल्केमा कोरोनाका १२ जना जमातीसहित ३३ जनामा कोरोना देखिएको थियो । रोगबाट ग्रसितमध्ये १७ जना उपचारपछि फर्किसकेको मुख्यमन्त्री कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।

यसैबीच सुनसरीको झुम्कामा गरिएको परीक्षणका सबै रिर्पोट नेगेटिभ आएको छ । भक्तपुरमा भेटिएकी संक्रमित सुनसरी बसेर गएको पाइएपछि उनीसँग नजिक आएकाहरुको स्वाब परीक्षण विराटनगरमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !