चितवनः विश्वबाटै लोप हुँदै गएको गिद्ध संरक्षणमा यहाँ चुनौती देखा परेको छ । केही वर्ष अघि एकै वर्ष गिद्ध प्रजनन् केन्द्रमा ९ वटा बच्चा कोरलिए पछि उत्साहीत वनेका नेपालका संरक्षण कर्मीहरुमा क्रमश यो संख्या सून्यमा झरे पछि चुनौती थपिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मूख्य कार्यालय कसरामा गिद्ध प्रजजन् केन्द्र रहेको छ । आर्थिक वर्ष २०७३÷०७४मा १५ वटा फुलबाट ९ वटा बच्चा कोरलिएका थिए । तर यस वर्ष १९ वटा फुल पारेको भए पनि ती फुलबाट गिद्धले बच्चा कोरल्न सकेनन् । प्रजनन् केन्द्र हेर्दै आउनु भएका डा. बिकल्प कार्कीका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा २१ वटा फुलबाट ६ वटा चल्ला र आर्थिक वर्ष २०७५÷०७६ मा २० वटा फुलबाट दुईवटा बच्चा कोरलिएका थिए । क्रमश घट्दै आएर यस वर्ष सून्य भएको हो ।

प्रजनन् केन्द्रमा वि. सं. २०७१ मा पाँच वटा फुल पारेर पहिलो वर्ष एउटा बच्चा कोरलिएको भए पनि दोस्रो वर्ष ७ वटा फुल पारे पनि बच्चा कोरल्न सकेको थिएन । तेस्रो वर्ष ९ वटा बच्चा कोरलिएका थिए ।
कार्कीका अनुसार गिद्ध प्रजनन् केन्द्रमा बच्चा कोरल्ने समस्या देखिए पछि अनुसन्धान थालिएको छ । माउले फुल पार्ने तर बच्चा कोरल्न नसके पछि यसको कारणको खोजि गर्न सुरु गरिएको हो । फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ । गिद्धले अक्टोवरको अन्तिम देखि फेव्रूुअरीको अन्तिम सम्म फुल पार्ने गर्दछ । पहिलो पटकको फुल सफल नभएमा एकै मौसममा दोस्रो पटक समेत गिद्धले फुल पार्ने गर्दछ । यस वर्ष पाँचवटा गिद्धले दुई पटक फुल पारेको उहाँले जानकारी दिनुभयो ।

डा. कार्कीले फुल पार्ने तर बच्चा कोरल्न नसक्नुको कारण के हुन सक्छ भनेर बिदेशी बिज्ञहरु सँग समेत परामर्श गरि अनुसन्धान भईरहेको जानकारी दिनुभयो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले तापक्रम निकै गिरावट भएकाले बच्चा कोरल्न नसकेको होकी भन्ने आशंका पैदा भएको भए पनि अनुसन्धान भईरहेकाले अहिलेनै भन्न नसकिने बताउनुभयो । उहाँले पछिल्ला वर्षहरुमा तापक्रम ४ डिग्रि भन्दा तल झरेकाले समस्या उत्पन्न भएको हुन सक्ने जानकारी दिनुभयो ।

यस वर्ष जाडोको मौषममा तापक्रम चार डिग्रीमा झरेको थियो । हाल प्रजनन् केन्द्रमा १५ भाले, १६ पोथी रहेका छन् । हालै मात्र त्यहाँबाट प्रकृतिमा छाड्नका लागि सातवटा बयस्क र दुईवटा बच्चा नवलपरासीको जटायु रेष्टुरेन्टमा लगिएको छ । हाल सम्म सो रेष्टुरेन्टमा केही समय राखेर ३१ वटा गिद्ध प्रकृतिमा छाडी सकीएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गरी सेतो डंगर जातको गिद्धको बंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंछी संरक्षण संघले सन् २००८ बाट कसरामा प्रजनन् केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् ।

स्थापनाको समयमा करिब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन् केन्द्रमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !