चितवनः कोरोनाको त्रास संगै कारागार कार्यालय चितवनले बाह्य जिल्लाबाट कैदी वन्दीहरुलाई ल्याउन रोक लगाएको छ । कोरोना भाईरसको संक्रमण वढ्दै गएको समयमा कारागार भित्र पनि रोगको संक्रमण हुन सक्ने भन्दै बाह्य जिल्लाबाट पठाईने कैदी बन्दीमा रोक लगाईएको कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यस कारागारमा देशका बिभिन्न जिल्लाबाट कैदी वन्दीहरु स्थानान्तरण गरेर पठाउने गरिन्छ । बिशेष गरि क्यान्सर रोगका बिरामीलाई यहाँ स्थानान्तरण गर्ने गरिन्छ । यो संगै नवलपुरमा कारागार कार्यालय नहुँदा त्यहाँका कैदी बन्दी र मकवानपुरमा महीला वन्दी गृह नहुँदा महीला बन्दी यहाँ पठाउने गरिन्छ ।

अहिले कार्यालयले नवलपुर जिल्लालाई पत्रनै पठाएर त्रास वढेका कारण कैदी वन्दी नपठाउन अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । कोरोना भाईरसको संक्रमण वढ्दै जाँदा बाह्य जिल्लाबाट आएका कैदीवन्दीहरुबाट असुरक्षित हुन सक्ने देखिए पछि नल्याउन भनिएको हो ।
कोरोना संक्रमणको त्रास वढे संगै सरकारले गरेको लकडाउनको समयमा मात्रै कार्यालयमा ३९ जना कैदी वन्दी थपिएका छन् । ती मध्ये मकवानपुरका २ जना, नवलपुरका १२ जना र चितवनका २५ जना रहेका छन् । मकवानपुरबाट आउने कैदी वन्दी नगन्य संख्यामा हुने भएकाले सो जिल्लालाई मौखिक रुपमा मात्रै आग्रह गरिएको उहाँको भनाई थियो ।
अहिले कारागार कार्यालय चितवनमा क्षमता भन्दा दोव्वर वढी कैदी वन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला वन्दी गृहमा ५८ जना, नावालक ३ जना र २ सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा ६ सय ७४ जना कैदी वन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !