काठमाडौं : सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । संघीय संसदका दुवै सदनका सांसदहररु, संसदका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीको स्वाब बिहीबार र शुक्रबार बिहान संकलन गरिएको थियो ।
बिहीबार स्वाब परिक्षण गरिएका २१२ सांसदसहित ४४१ जनाको रिपोर्ट नेगेटिभ आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिनुभयो । रिपोर्ट नेगेटिभ आएका सबै सांसदहरुले बजेट अधिवेशनको आज दिउँसो ४ बजे हुने पहिलो बैठकमा प्रवेश पाउनेछन् । संसद सचिवालयले कोरोना परीक्षणको रिपोर्ट देखाएपछि मात्र बैठकमा प्रवेशअनुमति दिनेछ ।
६३ सांसदको रिपोर्ट आउन बाँकी
शुक्रबार स्वाब संकलन गरिएका ६३ सांसदको रिपोर्ट भने आउन बाँकी छ । आज २५१ जनाको स्वाब संकलन गरिएको थियो । संसदका सहप्रवक्ता दशरथ धमलाले बिहीबार परीक्षणका लागि पठाइएको सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
त्यस्तै, शुक्रबार पठाइएको स्वाबको रिपोर्ट भने नआइसकेको र आजै ३ बजेसम्म रिपोर्ट पठाइदिन आग्रह गरिएको उनले जानकारी दिए । ५४ सांसदहरुको भने स्वाब परीक्षण बाँकी रहेको सचिवालयले जनाएको छ ।