चितवनः ईच्छाकामना गाउँपालिकाभित्र सञ्चालन हुने विकास निर्माणका काममा स्थानीय कामदारलाई प्राथमिकता दिनुपर्ने भएको छ । पालिकाले आफ्नो क्षेत्रभित्र भएका सबै योजनामा स्थानीय रुपमा उपलब्ध हुने कामदारलाई उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेको हो ।

पालिका अध्यक्ष गीता गुरुङले आफ्नो क्षेत्रमा भएका मजदुरहरुको तथ्यांक अध्यावधिक गर्न वडा कार्यालयहरुलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । त्यो तथ्यांक गाउँपालिकामा आएसँगै आफ्नो क्षेत्रमा के कस्ता र कति कामदार छन् पत्ता लाग्ने भन्दै उहाँले कामदारको क्षमता अनुसार काममा लगाईने बताउनुभयो ।

पालिकाभित्र रहेका स्थानीय, प्रादेशिक र संघीय आयोजनाका ठेकेदारहरुलाई पनि स्थानीय कामदार प्रयोग गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हाम्रो क्षेत्रमा काम गर्दा स्थानीयलाई प्राथमिकतामा राखेर काम गर्नुहोस् भनेका छौं ।”यहीका कामदारले गर्नसक्ने कामका लागि बाहिरका कामदार ल्याउन नहुने उहाँको भनाई छ ।

लकडाउनसँगै विभिन्न क्षेत्रबाट फर्किएका कामदारहरुलाई पुनः फिर्ता हुनुपर्ने अवस्था भएमा गाउँपालिकामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । गुरुङका अनुसार विभिन्न निर्माणका योजना शुरु भएकाले ती कामदारलाई फर्काउनु पर्ने भएमा आवश्यक पहल गाउँपालिकाले गर्नेछ ।

ईच्छाकामनामा अन्य क्षेत्रमा काम गरेर हाल फर्किएका पाँच सय हाराहारी मजदुर रहेका छन् । गुरुङका अनुसार गाउँपालिकाभित्रका आयोजनाहरुमा बाहिरबाट आएर काम गर्नेहरुको संख्या एक हजारभन्दा बढी छ । सोही गाउँपालिका हुँदै पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक खण्ड जस्ता ठूला सडकहरु पर्दछन् । हाल ती सडकमा पुल निर्माण, मर्मतसम्हार, बायो इञ्जिनियरिङ जस्ता काम भईरहेका छन् ।

यससँगै अन्य योजनामा पनि बाहिरका मजदुरहरु कामका लागि आएका छन् । जिल्लाको एकमात्रै यस गाउँपालिकामा २७ हजार हाराहारीमा जनसंख्या रहेको छ । जसमध्ये नौ हजारभन्दा बढी चेपाङ समुदाय छ । गाउँपालिकामा सात वटा वडा रहेका छन् । पालिकाको अधिकांश भाग पहाडी क्षेत्र पर्दछ । स्थानीयहरु अधिकांश मजदुरीमा निर्भर छन् ।

प्रतिक्रिया दिनुहोस !