
काठमाडौंः एक लाख १९ हजारभन्दा बढी मानिसको मृत्यु र १९ लाख मानिसमा संक्रमण भएको नोभेल कोरोनाभाइरसविरुद्धको खोप विकासका लागि विश्वभरका वैज्ञानिकहरुले प्रयत्न गरिरहेका छन् ।
कोरोना भाइरसको प्रकोपबाट विश्वमा अति संक्रमित मुलुकहरु चीन र इटालीमा पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर कम भएको छ । तर, खोपको विकास हुन सकेन भने दोस्रो चरणको प्रकोपको जोखिम रहेकोप्रति विज्ञहरुले चेतावनी दिएका छन् ।
लामो प्रक्रिया, विभिन्न वैज्ञानिक व्यवधान, प्रयोगशाला, निजी कम्पनी र सरकारहरुबीच अन्तर्राष्ट्रिय गम्भीरता र संयोजनको अभावलगायतका कारण लागि खोप विकासका लागि वर्षौं लाग्ने विज्ञहरुले बताएका छन् ।
विज्ञहरुले नोभेल कोरोना भारसको संक्रमणविरुद्धको खोप विकासका लागि कम्तिमा एक वर्ष लाग्ने र यो सुरक्षित, प्रभावकारी र सर्वव्यापी बनाउन कम्तिमा डेढ वर्ष लाग्ने बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार आजका मितिसम्म तीनवटा खोपको क्लिनिकल ट्रायलको चरणमा रहेको जनाएको छ । यसको अर्थ ती तीनवटा खोपहरुलाई मानवमा परीक्षण गर्न योग्य रहेका छन् भने ६७ वटा खोपहरु प्रि(क्लिनिकल चरणमा छन् ।