चितवनः कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको अगुवाईमा यहाँ स्थापना गरिएको भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालको व्यवस्थापन आजबाट भरतपुर अस्पतालले हेर्न सुरु गरेको छ । सो अस्पतालमा अन्य स्वास्थ्य संघ संस्था संग क्षणीक समयका लागि ल्याएका सामान बाहेक सम्पूर्ण सामाग्री अब भरतपुर अस्पतालको हुने भएको छ ।
भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबिच सो अस्पतालको व्यवस्थापन हेर्ने सम्बन्धमा सम्झौता भएको छ । भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार अस्पतालको नाम भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालनै रहने छ । नामको माथि भरतपुर महानगरपालिकाबाट स्थापित र भरतपुर अस्पतालबाट संञ्चालित लेखिएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल संयोजक रहेको भरतपुर कोरोना नियन्त्रण कार्यदलको अगुवाईमा चैत ७ गते अस्पताल सुरु भएको थियो । सो अस्पतालमा हाल सम्म कोरोना आशंका गरिएका ३ सय ५५ जनाको उपचार गरिसकीएको छ । कार्यदलका सदस्य सचिब एबं भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष अधिकारीका अनुसार १ सय ४३ जनालाई भर्ना गरेर सो अस्पतालले उपचार गरेको छ ।
जस मध्ये २ सय २ जनाको स्वाब परिक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका प्रमुख दाहालले चैत मसान्त सम्मको सम्पूर्ण खर्च महानगरपालिका मार्फत भूक्तानी हुने र अबको व्यवस्थापन भरतपुर अस्पतालले गर्ने बताउनुभयो ।
तत्काल अस्पताल आबश्यक भएकाले महानगरको अगुवाई ७२ घण्टा भित्र कोरोना अस्पताल स्थापना गरिएको भन्दै उहाँले अरु केही समय संञ्चालन गर्नु पर्ने देखिए पछि व्यवस्थापन गर्न सहज होस भन्ने उद्देश्यले यसको सम्पूर्ण जिम्मेवारी भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको बताउनु भयो ।
भरतपुर अस्पताल बिकास समितिका सदस्य समेत रहनु भएकी दाहालले अबको संञ्चालनका क्रममा कुनै समस्या आई परेमा महानगरले सहयोग गर्ने बताउनुभयो । कोरोना अस्पतालमा ५० साधारण शैया, १० एचडियू शैया र १० शैयाको सघन उपचार कक्ष रहेका छन् । भरतपुर अस्पताल ६ सय शैयाको संघिय अस्पताल हो । जुन कोरोना अस्पताल नजिकै रहेको छ । भरतपुर अस्पतालले आईसोलेसनमा राख्नुपर्ने बिरामीलाई कोरोना अस्पतालमा राख्ने र जटिल बिरामीहरुलाई भरतपुर अस्पतालमानै राखेर उपचार गर्ने जनाएको छ ।
कोरोना रोगको उपचारकै लागि नेपालमा पहिलोपटक भरतपुरमा अस्पताल स्थापना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !