
चितवन: कोरोना संक्रमणको डरले बिरामी भएकाहरु सकेसम्म अस्पताल जान चाहदैनन् । तर डरकै कारणले रोग पालेर बसिरहँदा दिर्घकालिन समस्या पर्न सक्ने भन्दै समयमा सजग हुन चिकित्सकको सुझाब छ ।
भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “गत वर्षहरुमा यतिबेला कम्तीमा २० जना बिरामी उपचारका लागि आउने गरेको भए पनि अहिले दुई जना पनि आउँदैनन् ।” टेलिफोन गरेर सोध्ने, बुझ्ने भए पनि रोग पालेर बसेका छन् की भन्ने चिन्ता हुन थालेको अधिकारीको भनाई छ ।
उहाँले घरमानै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक जटिल हुन सक्ने खालका बिरामीहरुलाई भने अस्पताल आउन आग्रह गर्नुभयो । अधिकारीले भन्नुभयो “अस्पताल आउनै पर्ने बिरामीले डर मान्नुपर्दैन ।” उच्च जोखिमका रोगहरु पालेर नबस्न उहाँको सुझाब छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गएको आठ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रहरुमा ३ हजार ८ सय २९ जना बिभिन्न रोगका बिरामीहरु उपचारका लागि आएको तथ्याङ्क छ । जस मध्ये ८ सय ५० जना ज्वरोका र ६२ जना रुघाघोकिका रहेको उहाँले जानकारी दिनुभयो । एकिन तथ्याङ्क नभए पनि गतवर्ष यतिवेला जिल्लाका अस्पतलाहरुमा ७ हजार भन्दा बढि बिरामी उपचारका लागि आउने गरेको तिवारीको भनाई छ ।
जिल्लामा केन्द्रिय स्तरको भरतपुर अस्पताल, २ नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, ३ सरकारी अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र ५ वटा सामुदायीक ईकाई रहेका छन् । तिवारी हिडडुल नगरे पछि रोग नफैलिएको, घरबाटै चिकित्सक, स्वास्थ्यकर्मी लगाएत संग परामर्श गर्ने काम भईरहेको र अस्पताल आउँन डर मानेर पनि बिरामी नआएको हुन सक्ने बताउनुहुन्छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल गतबर्ष यतिबेला दैनिक १ हजार ५ सय भन्दा वढि बिरामी आउने गरेको भए पनि शुक्रबार १ सय ५० जना बिरामी मात्र आएको बताउनुहुन्छ । त्यीनै बिरामी आउने चितवन मेडीकल कलेजमा शुक्रबार १ सय जना मात्र बिरामी आएका थिए ।
कलेजका निर्देशक डा. दयाराम लम्साल आँफुहरुले बिरामी हेरीरहेको भए पनि बिरामीनै आउन छाडेको बताउनुहुन्छ । जटिल रोगका बिरामीलाई घरमानै रोग पालेर नबस्न उहाँको सुझाब छ । जसले गर्दा दिर्घकालिन असर पर्न सक्ने भएकाले जटिल समस्या देखिएकाहरुलाइृ अस्पताल आउनबाट नडराउन आग्रह गर्नुहुन्छ ।
भरतपुर अस्पतालका पूर्ब मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण प्रसाद पौडेल बाहिर भनेजस्तो गरि चिकित्सकले बिरामी नहेरेको नभएर आउँदै नआएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले दिनहुँ काम गरिरहेका छौ । जटिल समस्या छ भने रोग पालेर नबसौ ।” बल्झने र फैलने खालका समस्या छन भने रोग लुकाउनु घातक हुने पौडेलको सुझाब छ ।
टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्क संग आउन उहाँले आग्रह गर्नुभयो । नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष एवं बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा पुराना रोगहरु मधुमेह, उच्च रक्तचाप, थाईराईड, दम जस्ता समस्यामा सम्बन्धित चिकित्सक संग परामर्श गरेर औषधि प्रयोग गर्न सुझाब दिनुहुन्छ । दम बढ्यो, अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने बताउनु हुन्छ । ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरीया, स्क्रबटाईफस, हेपाटाईटिस जस्ता कारणले पनि हुने भएकाले कारणको खोजि गर्नु पर्ने उहाँको भनाई छ ।
सामान्य समस्या, परामर्श बाट औषधि सेवन गरे हुने समस्या र पछि उपचार गरेर हुने खालका बाहेक जटिल समस्या पालेर नबस्न खतिवडाको आग्रह छ । अस्पताल आउनै नहुने नभएर सके सम्म नआउने भनिएको भन्दै उहाँले उपचारका लागि अस्पताल सुरक्षित रहेको बताउनुभयो । घरमानै रोग पालेर बस्ने र अन्तिम अबस्थामा अस्पताल आउँदा उपचार हुन नसकेर ज्यान जान थालेको भन्दै खतिवडाले सबै समयमानै सजग हुनुपर्ने सल्लाहा दिनुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा भ्रमका कारण जोखिम बढेको बताउनुहुन्छ । बाहिर सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र गेटबाटै फकाउँछन् भन्ने हल्लाका कारण बिरामी अस्पताल नआउने गरेको उहाँको भनाई छ । सामान्य ज्वरो, रुघाखोकी लागेमा सिधै कोरोना अस्पताल लगेर आईसोलेसनमा १४ दिन राख्ने गरेको भ्रमले समेत बिरामी अस्पताल नगएको खतिवडा बताउनुहुन्छ । उहाँले भन्नुभयो “घरघरमा बिरामीलाई अस्पताल सम्म आउने बनाउन र अस्पतालले उपचार ढुक्क संग गर्छ भन्ने बिश्वास दिलाउन ढिला नगरौं ।”
उहाँले थप्नुभयो “हामी जो जो जहाजहाँ छौ भ्रम र त्रास मेटाउँदै जतिसक्दो धेरै परिक्षण गर्ने गराउने बातावरणमा जुटौ ।”