चितवनः जिल्लामा रहेका अस्पतालहरुले कोरोना संक्रमणको आशंका गरिएका बाहेकका बिरामीलाई सेवा दिन नसकेको स्थानीय तहका प्रमुखहरुले गुनासो गरेका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको स्थानीय तहहरुको समन्वयात्मक बैठकमा बोल्दै स्थानीय तहका प्रमुखहरुले कोरोना संक्रमणको डरका कारण अन्य रोगका बिरामीहरुले सेवा पाउन नसकेको बताएका हुन ।
कोरोना भाईरस कोभिड १९ का बिरामीहरुलाई लक्षित गर्दा अन्य रोगका बिरामीहरुले उपचार नपाउने स्थिति आएको उनीहरुको भनाई थियो । बैठकमा बोल्दै राप्ती नगरपालिका प्रमुख प्रभा वरालले भन्नुभयो “केही दिन अघि दुई जना बिरामीले उपचार नपाई फर्किएका छन । कोरोनाको त्रासको समयमा अन्य बिरामीहरुले उपचार नपाउने हो ?” उहाँले थप्नुभयो “कोरोना लागेका बचाउँन खोज्दा अन्य रोगका बिरामी मर्ने स्थिति आयो ।” टाढाबाट अन्य रोगका बिरामी आउँदा उपचार नपाउने गरेको भन्दै उहाँले यसलाई रोक्नु आबश्यक रहेको बताउनुभयो ।
ईच्छाकामना गाउँपालिका प्रमुख गिता गुरुङ्ले कोरोना संक्रमण पछि आएका अन्य रोगका बिरामीले नीजि अस्पतालहरुमा मात्रै नभएर सरकारी अस्पतालमा समेत सेवा नपाएको बताउनुभयो । उहाँले भन्नुभयो “केही दिन अघि म आँफै बिरामी परेर अस्पताल आएको थिए । आउँदा चिकित्सक भेट्न सकीन ।” जनतालाई नीजि तथा सरकारी अस्पतालले सेवा दिनुपर्ने उहाँको भनाई थियो ।
हरेक स्थानीय तहहरुले आबश्यकता अनुसार एम्बुलेन्स र सवारी साधन तयारी अबस्थामा राखेको र सबैै तहमा क्वारेन्टाईन वनाईएको सो अबसरमा जानकारी दिईएको थियो । कोरोनाको संक्रमणको त्रास बढेको समयमा जिल्लामा प्रबेश गर्ने भारतिय सवारी साधनहरुमा कडाई गर्न प्रमुखहरुले मग गरेका छन् ।
बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले केही दिन अघि अस्पतालहरुले दुई जना बिरामी फर्काएको र ती अस्पताललाई अब यस्तो गरे बन्द गर्न निर्देशन दिईएको जानकारी दिनुभयो । उहाँले बिरामी फर्काउन कसैले नपाउने र सबै खालका बिरामीहरुको उपचार हुनुपर्ने बताउनुभयो । जिल्लामा भारतिय सावरी आएको भन्ने कुरालाई मध्यनजर गर्दै तरकारी बजार (सव्जि मण्डी) समेत बन्द गराईएको उहाँले बताउनुभयो ।
सरकारले निर्देशन गरे अनुसारका तीन वटा समितिहरुले आजै देखि काम सुरु गरेको उहाँको भनाई थियो । बैठकमा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेश सभा सदस्यहरु, जिल्लामा रहेका सात वटै स्थानीय तहका प्रमुखहरु, स्वास्थ्य कार्यालय चितवनका प्रमुख, भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट, नीजि अस्पताल समन्वय समितिका अध्यक्ष, राजनैतिक दलका प्रमुख एबं प्रतिनिधिहरु, चिकित्सकहरुको सहभागीता रहेको थियो ।
बैठक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकले कोरोना भाईरसको परिक्षण ल्याब स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग माग गर्ने, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला चितवनमा स्थापना गर्न पहल गर्ने, राहत बितरणका सन्दर्भमा स्थानीय तहहरुमा एकरुपता कायम गर्ने लगाएतका ७ बुँदे निर्णय समेत गरेको छ ।