चितवनः कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मानिसको भिडभाड हुने स्थानहरु लाग्ने मेलाहरु वन्द गर्ने निर्णय गरेको छ । आजदेखिनै लागु हुने गरि यो निर्णय कार्यान्वयन हुने जनाएको छ ।
कुरिनटारको चेरेशमा रहेको मनकामना केवलकार र जिल्लामा सञ्चालन हुँदै आएका हाटवजारहरुलाई बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले केवलकार र हाटबजारमा सर्वसाधारणको ठूलो जमघट हुने भएकाले तत्कालका लागि बन्द गर्न निर्देशन दिईएको जानकारी दिनुभयो ।
भट्टराईका अनुसार केवलकार संञ्चालकले सूचना प्रवाह गर्न एक दिनको समय माग गरेकाले केवलकार शनिबारबाट बन्द गर्न भनिएको छ । हाटबजार र सिनेमा घरहरु शुक्रबारबाट बन्द गर्न सूचना जारी गरिएको छ । मनकामना मन्दिर दर्शन गर्न जाने केवलकार चितवनको कुरिनटार स्थित चेरेशमा रहेको छ । सो केवलकारमा गत वर्षहरुमा यतिबेला ३ हजार ५ सयले यात्रा गर्ने गर्दथे । यस वर्ष भने यो संख्या १ हजार ५ सय हाराहारी मात्र रहेको जनाईएको छ । जसमध्ये ३० प्रतिशत भारतिय नागरिक रहेका छन् ।
जिल्लाका सबै स्थानीयतहका धरै जसो वडाहरुमा हाटबजारहरु संञ्चालनमा रहेका छन् । ती हाटबजारहरु हप्तामा दुई दिन सम्म संञ्चालन हुन्छन् । हाटबजारमा सामाग्री किनमेल गर्नेहरुको निकै भिड लाग्ने गर्दछ । तत्कालका लागि बैकल्पिक व्यवस्थाको खोजी गर्न भन्दै हाटबजार बन्द गर्न भनिएको हो ।
यस्तै जिल्लाका सबै सिनेमा घरहरु पनि बन्द गर्न निर्देशन दिईएको छ । यस्तै सार्बजनीक सवारी साधनमा सिट क्षमता भन्दा वढि यात्रु नराख्न आग्रह गरिएको छ । यो निर्णयको बिपरित कसैले काम गरेमा कानुन बमोजीम कारवाहि गरिने सूचनामा जनाईएको छ । बिद्यालय र क्याम्पसहरुमा शिक्षक, प्राध्यापक, कर्मचारी बाहेक सबैलाई बिदा दिई सकीएको छ ।