चितवनः विदेश जाने तयारी गरेको एक जोडीले त्यही पैसाले यहाँ व्यवसाय शुरु गरेको छ । क्यानडा केन्द्रीय कार्यालय भएको अनामिकी ब्यूटी शैलुनमा काम गर्दै गरेकी श्रीमतीले साईप्रसर रहेका श्रीमान्लाई क्यानडा जानका लागि यहाँ बोलाईन् । श्रीमान् जब नेपाल झरे उनलाई स्वदेशमै केही गर्ने सोच पलायो ।

यही सोचका साथ भरतपुर महानगरपालिका वडा नं. ११ माईती भएकी इन्द्रा श्रेष्ठ र उहाँका श्रीमान् निजगढका अनिल श्रेष्ठले डि लाभान्डिज नामक ब्यूटी शैलुन र स्पा सञ्चालनमा ल्याउनु भएको हो । इन्द्राको दुई वर्षे अनामिकाको अनुभवलाई प्रयोग गर्दै श्रीमान्का साथमा व्यवसाय सञ्चालनमा आएको हो ।

इन्द्राले भन्नुभयो “समाजशास्त्रमा स्नातकोत्तर गरेपछि क्यानडा जान चाहेको भए पनि श्रीमान् मान्नु भएन । हामीले विदेश जान तयार पारेको पैसाले यही व्यवसाय शुरु ग¥यौं ।”

भरतपुर महानगरपालिका वडा नं. १० को नहर चोकमा शुरु भएको यो व्यवसायमा श्रेष्ठ दम्पत्तीले रु.४० लाखभन्दा बढी लगानी गरेको छ । इन्द्राका अनुसार यहाँ जेल नेलदेखि दुलाहा दुलही सिंगार्नेसम्मको काम हुन्छ । महिला र पुरुष दुवैका लागि सेवा दिने लाभान्डिजमा कपाल काट्ने, कपालको उपचार गर्ने, मसाल गर्नेलगायत महिला पुरुषले गर्ने सिंगारका सबै काम हुने उहाँले बताउनुभयो ।

शुभारम्भको अवसरमा पाँच पटक सेवा लिनेलाई छैठौं पटक निःशुल्क सेवा दिने गरिएको छ । रु.५० को थ्रेडिङदेखि रु.१८ हजारको मेकअपसम्म यहाँ हुने गर्दछ ।

उच्चस्तरको सामग्री प्रयोग हुने भएकाले गुणस्तरीय सेवा दिने बताउँदै उहाँले भन्नुभयो “स्थानीय बजारमा हामीले दिने सेवा अन्यले दिन कठिन छ ।”

गत माघ १३ गतेबाट शुरु भएको व्यवसायमा अहिले सन्तोषजनक रुपमा कारोबार भईरहेको छ । त्यसो त यहाँ राष्ट्रिय र स्थानीय कलाकारहरु समेत सेवा लिन आउने गरेका छन् ।

साईप्रसबाट होटल व्यवस्थापनमा स्नातक गर्नुभएका अनिलले विदेशमा भन्दा स्वदेशमै मिहिनेत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “जोश र जाँगर रहुन्जेल विदेशमा बिताएर बुढेसकालमा स्वदेश फर्किनु हुँदैन । यही केही गर्नुपर्छ भन्ने उद्देश्यले व्यवसाय थालेका हौं ।” हामी जस्ता युवा जोशलाई यहाँका जनताले साथ र सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

दुवै जना काममा लाग्ने भएकाले यसको अतिरिक्त अन्य दुई जनाले यहाँ रोजगार गरिरहेका छन् । परिवारका सदस्यहरुले पनि काममा साथ दिने भएकाले सेवाग्राही फर्किनु नपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !