
चितवनः हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा साउन यता हात्तीका चारवटा बच्चा थपिएका छन् । पछिल्लो पटक फागुन १७ गते देबिकलीले बच्चा जन्माए संगै यस आर्थिक वर्षमा हात्तीका चारवटा बच्चा जन्मिएका हुन ।
केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार माघ ८ गते तिर्थमानकली, कात्तिक ८ गते कोशिकली र असोज ६ गते हिमानीकलीले छावा जन्माएका हुन । यस वर्ष जन्मीएका सबै बच्चा भाले हुन । कोशिकलीले खगेन्द्र मल्लि पोष्टमा र अन्यले तालिमकेन्द्रमा बच्चा जन्माएका हुन । गणेशकलीको पेटमानै मरेको बच्चा जन्मिएको थियो ।
चौधरीका अनुसार गत वर्ष पाँचवटा हात्तीले बच्चा जन्माएका थिए । तमोरकली, कर्णालीकली, लोकतन्त्रकली, गणेशकली र पुजाकलीले गतवर्ष बच्चा जन्माएका हुन । पुजा बाहेक सबैले भाले बच्चा जन्माएका थिए । हाल खोरसोरमा बच्चा सहित ९ वटा भाले र १५ पोथि हात्ती रहेका छन् । केन्द्रमा रहेका हात्ती मध्ये चितवनकली र सिमसारकली गर्भिणी रहेका छन् ।
हात्तीले २२ देखि २४ महिनामा वच्चा जन्माउँछ । निकुञ्जको तालिम केन्द्र, सौराहा, कसरा र अन्य पोष्टहरुमा हात्ती रहेका छन् । बि. सं. २०४२ सालमा केन्द्र स्थापना गरिएको हो । केन्द्रमा हात्ती हुर्काउनुको साथै तालिम समेत दिने गरिन्छ । मुख्य रुपमा निकुञ्ज गस्तिमा सरकारी हात्ति प्रयोग गरिदैं आएको छ