चितवनः भरतपुर महानगरले सूर्तीजन्य पदार्थ बेचबिखन तथा सेवनमा कडाई गरेको छ । महानगरले सूर्ती जन्य बस्तुको बिक्रीवितरण स्थलहरुको दिनहुँ अनुगमन गर्न सुरु गरेको छ ।
भरतपुर महानगरपालिका वडा न १० का अध्यक्ष तथा महानगरका प्रबक्ता अरूण पिडित भन्डारीले सूर्ती बेचबिखन तथा सेवनमा कडाई गर्दै महानगरलाई सूर्तीजन्य पदार्थ रहित बनाउन यो अभियान प्रभावकारी बनेको बताउनुभयो । उहांले यो अनुगमन सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ बमोजिम गरिएकाले यसमा स्थानियको साथ र सहयोग भएको पनि उल्लेख गर्नुभयो ।
महानगरले पछिल्लो समय शैक्षिक संघ संस्था, सरकारी कार्यालय, अस्पताल बालगृह लगायतका निकाय आसपासका क्षेत्रमा हुने सूर्ती जन्य पदार्थको बिक्री भए नभएको अनुगमन गरिरहेको छ । शैक्षिक संघसंस्था, अस्पताल लगायतका निकायको एक सय मिटरको वरपर सूर्तीजन्य पदार्थहरु बिक्री बितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयमा महानगरका अधिकारीहरु जुटेका हुन ।
भरतपुर महानगरका उपसचिव प्रधुन्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिन जसो बजार अनुगमन तिब्र गरिएको छ । अनुगमनको क्रममा ३५ वटा पसलमध्ये १३ पसलमा यस्ता सामग्री पाएको र चुरोट सेवन गर्दै गरेका दुई जना व्यक्तिलाईसमेत कारवाही गरेको उपाध्यायले जानकारी दिनुभयो । गत बिहिबारबाट अनुगमन थालिएको हो ।
भरतपुर महानगरपालिकालाई ध्रुम्रपान रहित शहर (स्मोक फ्री सिटी) वनाईदै छ । आगामी डिसेम्बरमा बिशेष समारोह बिच औपचारीक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको हो ।
महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई ध्रम्रपान रहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य सुरु गरिएको छ । गत महिना इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई स्मोक फ्री सिटी बनाउने प्रतिबद्धता गर्नुभएको थियो ।
प्रमुख दाहालका अनुसार सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार भरतपुर महानगरपालिका सार्वजनिक स्थलहरु, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जन स्थल, होटल रेष्टुरेन्ट, खेलकुद स्थल, व्यवसाय स्थल, धार्मिक स्थल, सार्वजनिक सवारी साधन, प्रतीक्षालय, तथा ध्रुम्रपान र सूर्तीजन्य पदार्थ सेवन गर्न पूर्णत निषेध गरिएको छ । होटल रेष्टुरेन्टहरुमा तोकीएको स्थानमा मात्र ध्रुम्रपान गर्न पाईने छ ।
तोकीएको स्थानमा अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ । महानगरले लगाएको नियमविरुद्ध जाने जो कसैलाई पनि कानुन बमोजिम सजायँ हुने महानगर प्रमुख दाहालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !