चितवनः राजधानी बाहिरको सुविधासम्पन्न सरकारी अस्पताल मध्येको एक भरतपुर अस्पतालको सेवा विस्तार र गुणस्तरीय बनाउन रु.आठ करोड हाराहारीको उपकरणहरु खरिद एवं मर्मतसम्हार कार्य अघि बढाईएको छ । स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालहरुलाई उपलब्ध गराएको बजेटबाट उपकरणहरु खरिद एवं बिग्रिएका उपकरणहरुको मर्मत गर्न लागिएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार दुई वटा भिडियो एक्सरे, सघन उपचार कक्षमा प्रयोग हुने सिरिञ्ज पम्प, माईक्रोडेवराईडर सेट, मनिटर, मुटुको भिडियो एक्सरे गर्ने उपकरण, शल्यक्रियामा प्रयोग हुने अपरेटिङ माईक्रोस्कोप खरिदका लागि बोलपत्र आव्हान भईसकेको छ ।

यसैगरी दुई थान एक्सरे मेसिन खरिदका लागि बोलपत्र आव्हान गरिएको छ । हाल अस्पतालमा एक थान मात्रै एक्सरे मेसिन चालु अवस्थामा छ । दैनिक एक सयभन्दा बढीको एक्सरे गर्नुपर्ने हुन्छ ।

पौडेलका अनुसार अस्पतालमा अति आवश्यक पर्ने सिटी स्क्यान मर्मतका लागि आवश्यक उपकरणहरुको बोलपत्र आव्हान भईसकेको छ । बजेटको अभावमा सिटी स्क्यानमा समस्या आएको भए पनि मर्मत हुन सकेको थिएन ।

यस्तै दाँत सफा गर्ने र मिलाउने डेन्टल स्पालर, कानको श्रवणशक्ति नाप्ने ट्याम्पानो मिटर, फोहोर व्यवस्थापनमा प्रयोग हुने अटोक्लेप, प्रयोगशालामा प्रयोग हुने अटोक्लेप, इण्डोस्कोपी, ल्याप्रोस्कोपी लगायतका उपकरणहरु समेत अस्पतालले खरिद गर्न लागेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीका अनुसार मन्त्रालयले उपलब्ध गराएको रु. आठ करोड रकम मध्येबाट ती उपकरण खरिद गर्न लागिएको हो । न्यून स्रोतसाधन र जनशक्ति भएर पनि अस्पतालले ठूलो संख्यामा बिरामीको उपचार गर्दै आएको छ । अस्पतालमा हाल ६ सय शैया सञ्चालनमा छन् । ती शैया अनुसारको जनशक्ति र आवश्यक भौतिक पूर्वाधारको माग गरिएको तिवारीले बताउनुभयो ।

राजधानीको प्रसु्तीगृहपछि सबैभन्दा बढी प्रसुती भरतपुर अस्पतालमा हुने गर्दछ । विगतका वर्षहरुको तथ्यांकलाई हेर्दा हरेक वर्ष १५ हजार हाराहारीले प्रसु्ती सेवा लिने गरेका छन् । गत वर्ष भरतपुर अस्पतालमा दुई लाख ७३ हजार ४२८ जनाले बहिरंगमार्फत् सेवा लिएका थिए । अस्पतालमा १४ विभाग मार्फत् सेवा उपलब्ध गराईदै आएको छ ।

मध्यनेपालको केन्द्रीय स्तरको यस अस्पताल आम नागरिकको आकर्षणको रुपमा रहेको भन्दै उहाँले आएका बिरामीलाई उच्चतम सेवा दिनका लागि अहिले खरिद गर्न लागिएका उपकरणहरु सहयोगी हुने बताउनुभयो ।

जिल्ला र आसपासका जिल्लाका सर्वसाधारणको उपचारको पहिलो रोजाई भरतपुर अस्पताल हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !