चितवनः राष्ट्रिय समाचार समितिको ५९ औं बार्षिकोत्सवका अबसरमा आज यहाँ जिल्लामा कार्यरत पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानबअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गर्नु भयो ।
सो अवसरमा उहाँले राससको माध्यमबाट सकारात्मक समाचार आम जनतामा पुग्न सकेको बताउनुभयो । पत्रकार स्वस्थ हुनु पर्छ, स्वस्थ पत्रकारबाट नै स्वस्थ र रचनात्मक समाचार सम्प्रेषण हुन सक्छ भन्ने उद्धेश्यले गरिएको यो कार्यक्रम आँफैमा महत्वपूर्ण भएको उहाँको भनाई थियो ।
सरकारले मिडिया बिद्यक संगै अन्य बिद्यकका माध्यमबाट लोकतन्त्रलाई संकुचन गर्छकी भन्ने कुरा मनमा नराख्न उहाँले आग्रह गर्नुभयो । सभापति पोख्रेलले भन्नुभयो “संबिधान लेख्ने मान्छे मध्येको एउटा मान्छे म यहाँ छु । अरु सबै स्वतन्त्रता सामान्य स्वतन्त्रताको रुपमा राखिएको छ । तर प्रेसको स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता भनेर संबिधानमा सुनिश्चित गरिएको छ ।”
जरिवानाबाट होईन सचेतनाका माध्यमबाट र क्षमता अभिबृद्धिबाट सहि समाचार संम्प्रेषण हुने भन्दै उहाँले निर्धक्क भएर पत्रकारहरुले आँफुलाई लागेका कुरा जनताका सामु सम्प्रेषण गर्न थप उर्जा प्रदान होस भन्नुभयो । सो अवसरमा कार्यक्रमको सहयोगी संस्था एनपिआई नारायणी सामुदायीक अस्पतालका संञ्चालक बिष्णु कुँवरले पत्रकारहरुको स्वास्थ्य परिक्षण गर्ने अबसर प्रदान गरेकोमा रासस प्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा १ सय २ जना पत्रकारको स्वास्थ्य परिक्षण गरिएको राससका समाचार दाता कृष्ण आचार्यले जानकारी दिनुभयो । एनपिआई नारायणी सामुदायीक अस्पतालले पत्रकारहरुको झण्डै रु तीन लाख बराबरको परिक्षण गरेको जनाएको छ । रगत र पिसाबको नमुना परिक्षण पछि समस्या देखिएमा आजै सम्बन्धित बिज्ञ चिकित्सक संग समेत परामर्श गराईने आचार्यले जानकारी दिनुभयो ।