एचआईभी संक्रमितको परिवारको स्वास्थ्य बिमा

चितवनः जिल्लामा रहेका एच आई भी संक्रमितहरुको परिवारको स्थानीय तहहरुले निशुल्क स्वास्थ्य बिमा गर्न थालेका छन् । हाल सम्म १ सय २८ घरपरिवारको स्वास्थ्य बिमा भईसकेको छ ।
भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाईरल थेरापी (एआरटी) सेन्टरका प्रमुख कृष्णहरी सापकोटाका अनुसार जिल्लामा रहेका सातवटै स्थानीय तहहरुले संक्रमितहरुको स्वास्थ्य बिमा गरेका हुन । जस मध्ये भरतपुर महानगरपालिका र माडी नगरपालिकाका धेरै रहेका छन् ।
चालु आर्थिक वर्षको जेठ मसान्त भित्र सबै संक्रमितहरुको स्वास्थ्य बिमा गर्ने उद्देश्यका साथ सेन्टर लागेको सापकोटाले जानकारी दिनु भयो । गत आर्थिक वर्षबाट संक्रमित परिवारको बिमा गर्न थालिएको थियो ।
एकै परिवारमा चार जना सम्म संक्रमित हुने गरेकाले संक्रमितहरुको संख्या अनुसारको परिवारको संख्या कम रहेको छ । जिल्लाका सबै तहले स्वास्थ्य बिमा कार्यक्रम लागु गर्दा आँफुलाई मात्रै नभएर परिवारलाई समेत फाईदा भएको संक्रमित राम वहादुर थापा (नाम परिवर्तन) बताउनु हुन्छ । आँफ्नो कमाई नहुँदा बिमा गर्न कठिन भएको र स्वास्थ्य परिक्षणका क्रममा समेत समस्या आउने गरेको भन्दै उहाँले अहिले सबै परिक्षण बिमा मार्फत गर्दै आएको बताउनुभयो ।
अस्पतालमा रहेको सेन्टरबाट ९ सय ३८ जनाले एआबी औषधि सेवन गर्दै आएका छन् ।