
चितवनः भरतपुर अस्पतालले बहिरंग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीहरुलाई टिकट काट्ने र स्वास्थ्य परिक्षण गर्ने ठाउँ अलग गरेको छ । पाँचवटा टिकट काउण्टर मध्ये एउटामा त्यस्ता बिरामीहरुको टिकट काट्ने र छुट्टै कक्षमा परिक्षण गराउने व्यवस्था मिलाईएको अस्पतालले जनाएको छ ।
अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार सोमबारबाट अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परिक्षण अलग रुपमा गर्ने व्यवस्था मिलाईएको छ । कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै उच्च सतर्कता अपनाईएको अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिनुभयो ।
उपचार संगै सचेतनामा पनि अस्पताल जुटेको छ । कोरोना भाईरसको संक्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आज अस्पताल परिषरमा चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीहरुले मास्क लगाएर नमस्कार गर्दै संन्देश प्रबाह गरेका छन् । कार्यालय समय सुरु हुने समयमा बिहान १० बजे पछि सबै अस्पताल बाहिर भेला भएर एकै साथ मुखमा मास्क लगाएर दुई हात जोडी नमस्ते गरेका थिए ।
सो अवसरमा अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट तिवारीले हात नमिलाऔं दिल खोलेर नमस्ते गरौं भन्ने आम नागरिकलाई संन्देश प्रबाह गर्न छोटो कार्यक्रम गरिएको बताउनुभयो । बिरामीको उच्च चाप हुने समयमा सबैलाई सचेतना जगाउने गरि भिडभाडमा मास्क लगाउन र हात नमिलाउन सन्देश प्रबाह भएको उहाँले जानकारी दिनुभयो ।
आँफुलाई जचाँउने चिकित्सक कर्मचारीनै उभिएर नमस्ते गरे पछि उपचारका लागि आएका बिरामी र तीनका आफन्तले अस्पतालको दृश्य हेरेर त्यसको कारण बारे सोधपुछ समेत गरेका थिए । प्रमुख तिवारीले चिकित्सक, कर्मचारीलाई उपचारका क्रममा उच्च सतर्कता अपनाउन आग्रह गर्नु भएको छ ।
अस्पतालमा पाँच शैयाको बिशेष (आईसोलेसन)कक्ष स्थापना गरिसकीएको छ । अस्पतालका दुई जना बिशेषज्ञ फिजिसियनहरुलाई सो कक्षको जिम्मेवारी समेत दिईएको छ । अस्पतालले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु संग कोरोना भाईरसका बिषयमा बिशेष अन्तर्रक्रिया समेत गर्ने जनाएको छ ।
केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवन सहित १९ भन्दा बढि जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष तीन लाख भन्दा बढि बिरामीले अस्पतालबाट सेवा लिएका थिए । हाल दैनिक एक हजार दुई सय हाराहारी बिरामी बहिरंग सेवामा उपचारका लागि आउने गर्दछन् । जस मध्ये ७० जना जति रुघाखोकी र ज्वरोको हुने गरेको अस्पतालले जनाएको छ ।