
चितवनः उत्तरी छिमेकी चीनमा कोरोना भाईरसको संक्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ । तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिंदै आत्तिईहाल्नु नपर्ने जनाएका छन् ।
रुघाखोकीबाट शुरु हुने धेरै रोग चितवनमा देखिने गरेको पाईएको छ । यही जिल्लाको सरकारी भरतपुर अस्पतालमा बरिष्ठ फिजिसियनको रुपमा कार्यरत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा. भोजराज अधिकारी समयमै उच्च सतर्कता अपनाउन सकेमा संक्रमणणबाट बच्न सकिने बताउनुहुन्छ ।
कोरोना भाईरसले रुप परिवर्तन गरेकाले यसको छुट्टै औषधि र सुई (भ्याक्सिन) भने नभएको उहाँको भनाई छ । अधिकारीको भनाईमा यो भाईरस सन् १९६० मा पत्ता लागेको थियो । ग्रिक शब्दमा कोरोना भन्नाले माला भन्ने बुझिन्छ । यो भाईरस म्चषत ड्रिफ्ट (सामान्य परिवर्तन) नभएर क्जषत सिफ्ट (ठूलो परिवर्तन) भएकाले महामारीको जोखिम भने भएको उहाँले बताउनुभयो ।
नयाँ दशकसँगै यो भाईरस चीनको बुहानबाट देखिएको भन्दै उहाँले भन्नुभयो “मंगोलियन देशहरु मकाउ, ताइवान, कोरिया, थाइल्याण्ड लगायतका देशमा मध्यम र अमेरिका, अष्ट्रेलिया, नेपाल जस्ता देशहरुमा न्यून देखिएको छ ।”
धेरै संक्रमित भएको चीनसँग सीमा जोडिएको देश भएकाले नेपालीहरुले तीन वटा कुरामा विशेष ख्याल गर्न उहाँले सुझाव दिनुभयो । व्यक्तिगत सरसफाई र खानपानमा ख्याल गर्नुपर्ने उहाँको भनाई छ । राम्रोसँग साबुनपानीले हात धुने, काँचो मासु नखाने, जनावरसँग काम गर्नुपर्दा मास्क, पञ्जा जस्ता सुरक्षित कपडा लगाएर गर्नुपर्ने उहाँ बताउनुहुन्छ । यस्तै दोस्रो श्वासप्रश्वासबाट रोग सर्न सक्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिन्छ । यो मौसममा विवाह, व्रतबन्ध, धान्यान्चल जस्ता सार्वजनिक कार्यक्रमहरु बढी हुने भएकोले यस्ता कार्यक्रममा कम सहभागी हुन र हुनै पर्दा सावधानी अपनाउन अधिकारीले सुझाव दिनुभयो ।
तेस्रोमा कानुनी रुपमा सरकारको तर्फबाट उच्च सतर्कता अपनाउनु पर्ने हुन्छ । चिनिया पर्यटकदेखि त्यहाँ रहेका नेपाली विद्यार्थीहरु धेरै भएकाले तिनको आवतजावत हुँदा अन्तरदेशिय समन्वय गरी स्वास्थ्य परीक्षण गर्नुपर्ने अधिकारीको तर्क छ । अन्तर्राष्ट्रिय विमानस्थल र चीनको नाकामा स्वास्थ्य डेस्क राखेर परीक्षण गर्न उहाँले सुझाव दिनुभयो ।
नेपालमा पशु र पंक्षी पालनमा कार्यरत हुनेहरुले स्वास्थ्यको ख्याल नगर्ने गरेको बताउँदै उहाँले त्यस्ता कामदारहरुले उच्च सतर्कता अपनाउनु पर्ने बताउनुभयो । यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो ।
नेपालमा यतिबेला जाडो मौसम भएकाले रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि रुघाखोकी नै हो । अधिकारीका अनुसार त्यसपछि क्रमशः उच्च ज्वरो आउँने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्दछ । समयमा उपचार हुन नसकेमा निमोनिया भई यसबाट मृत्यु समेत हुने गर्दछ ।
अन्य भाईरसमा फोक्सोले काम गर्न छाड्दै जाने भए पनि कोरोनाको संक्रमणमा छिटो मृगौला फेल हुने र कलेजोमा बढी असर गर्ने उहाँले बताउनुभयो ।
रुघाखोकीको सामान्य उपचारबाट निको नभएमा स्वाब (¥याल, सिगान) परीक्षण गर्न सुझाव दिंदै उहाँले कोरोनाको लक्षण देखिएमा तत्काल चिकित्सकको सुझाव अनुसार औषधि उपचार गर्नुपर्ने बताउनुभयो ।
–––