चितवनः नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत चौध जिल्लाका बिरामीलाई यहाँको भरतपुर अस्पतालले सेवा दिदै आएको छ । बि. सं. २०७४ भदौ १ गते देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु् भए संगै प्रथम सेवा बिन्दुको रुपमा भरतपुर अस्पतालले स्वास्थ्य बिमाका बिरामीलाई सेवा दिदै आएको छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार स्वास्थ्य बिमा लागु भए यता पुष मसान्त सम्ममा ५३ हजार ४ सय ३८ जना बिरामीले बिमाको सुबिधा अस्पतालबाट लिएका छन् । तीनै बिरामीले अस्पतालमा दुई लाख ४४ हजार ९ सय ४२ पटक सेवा लिएको उहाँले जानकारी दिनुभयो । सरदर एक जनाले ४ दशमलब ६ पटक अस्पतालबाट सेवा लिएको देखिन्छ ।
स्वास्थ्य बिमा कार्यक्रम अन्तरर्गत सबैभन्दा बढि चितवनका बिरामीले सेवा लिएका छन् भने दोस्रोमा मकवानपुर, तनहुँ र गोर्खा जिल्लाका रहेका छन् । यसै गरि रोल्पा, रुकुम, पाल्पा, दाङ्, अर्घखाँची, पर्सा, सिन्धुली, रामेछाप, कास्की र रौतहटका बिरामीले पहिलो सेवा बिन्दु र रेफरल सेवा बिन्दुका रुपमा भरतपुर अस्पतालबाट सेवा लिएको पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा कार्यक्रम लागु भए पछि अस्पतालले रु २६ करोड १२ लाख ५२ हजार २ सय ५८ निकासा पाई सकेको छ भने रु ८ करोड हाराहारी पाउन बाँकी रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी देशका स्वस्थ्य बिमा लागु भएका सरकारी अस्पतालहरुमा भरतपुर अस्पतालमा आँफुहरुले उत्कृष्ठ सेवा प्रदान गरेको बताउनु हुन्छ । स्वास्थ्य बिमा वोर्डले दाबि अनुसारको भूक्तानी समयमा नगरिदिदाँ संञ्चालनमा कठिनाई भएको तिवारीको भनाई छ । दाबिका क्रममा पठाईएका कागजात समयमानै हेरेर भूक्तानी गरेमा त्यही रकमबाट औषधि लगाएतका सामाग्री खरिद गरि सेवा थप उत्कृष्ठ दिन सकीने भए पनि वोर्डले त्यसो नगरेको उहाँको गुनासो छ ।
कतिपय कागजात नमिलेको भन्दै पछि जानकारी गरीदिने र त्यसलाई संसोधन गरेर पठाउन अरु समय लाग्ने भएकाले भूक्तानीमा थप ढिलाई हुने भन्दै वोर्डले छिटो छरीतो काम गर्नुपर्ने तिवारी बताउनुहुन्छ । वोर्डका कार्यकारी निर्देशक रमेश पोख्रेलले भरतपुर अस्पतालले धेरै बिरामीलाई सेवा दिएको बताउँदै सेवामा अरु बढि सुधार आबश्यक रहेको बताउनुभयो । पहिलाको भन्दा सुधार हुँदै गएको भन्दै उहाँले थप गुणस्तरीय सेवा तर्फ अस्पताल केन्द्रित हुनु पर्ने बताउनुभयो ।
जनशक्तिको अभावमा भूक्तानीमा केही ढिलाई भएको स्विकार गर्दै उहाँले थप सुधार गर्दै लगिएको बताउनुभयो । देशभरका ५० जिल्लाका २५ लाख जनताले स्वास्थ्य बिमा गरेका छन् । थप १० जिल्लामा छिट्टै बिमा कार्यक्रम लागु हुने भन्दै उहाँले अर्को वर्ष सम्ममा देशका ७७ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने लक्ष्य लिईएको बताउनुभयो ।
बि. सं. २०७२ चैत्र २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पछिल्लो पटक यहि माघ ७ गते धादिङ्मा ५० औं जिल्लाको रुपमा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !