चितवन: स्वास्थ्य बिमा गरेर भरतपुर अस्पताललाई पहिलो बिन्दु छानेका नियमीत औषधि सेवन गर्नेहरुलाई एकै पटकमा तीन महिनाको औषधि दिन सुरु गरिएको छ । यस अघि एक पटकमा एक महिनाका लागि मात्र औषधि दिने गरिएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार टाढा टाढाबाट आउने बिरामीका लागि सहजहोस् भन्ने उद्धेश्यले तीन महिनाको औषधि एकैपटक दिन सुरु गरिएको हो । दिर्घ रोग एबं बुढेसकालकालाई बढि देखिने गरेको मधुमेह, उच्च रक्तचाप, दम, हाडजोर्नीको समस्या भएका, कोलेस्ट्रोल, थाईराईड जस्ता समस्या भएका बिरामीलाई त्यसरी औषधि दिन सुरु गरिएको तिवारीले जानकारी दिनुभयो ।
नियमीत परिक्षण गर्नुपर्ने वाहेककालाई यसबाट सहज हुने उहाँको भनाई छ । अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार चितवन र छिमेकी जिल्लाहरुका सर्वसाधारण धेरैले जीबन बिमा गर्दा पहिलो बिन्दु भरतपुर अस्पताललाई रोजेका छन् ।
छिमेकी तनहुँ जिल्लामा बिपन्न वर्ग तोकीएको छ । उनीहरुलाई सरकारले बिमा गरिदिएको छ । त्यस्ता बिपन्न वर्गको सुबिधा लिनेहरु धेरैले भरतपुर अस्पताललाई पहिलो बिन्दु तोकेको उहाँले जानकारी दिनुभयो । पौडेलका अनुसार एक पटकमा तीन महिनाको औषधि पाउने भए पछि टाढा टाढाबाट आउने बिरामीलाई निकै सहज भएको छ ।
भरतपुर अस्पतालमा दैनिक सरदर १ हजार ३ सय बिरामी बहिरंग सेवामा उपचारका लागि आउने गर्दछन् । ती मध्ये आधा बिमाका हुने गर्दछन् । बिमामा आउने मध्ये ५० प्रतिशत हाराहारी नियमीत औषधि सेवन गर्ने गरेको अस्पतालले जनाएको छ ।