चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो रोकथामको काम गर्नका लागि यहि मङ्सिर २७ गतेबाट दुई हप्ताका लागि धनिएको सडक पुष २२ गते सम्म बन्द गरिने भएको छ । दिउँसो ११ वजेबाट ३ वजे सम्म सवारी साधन रोकेर काम गरिएको छ ।
नारायणगढ म’ग्लिन सडक आयोजनाले आज जारी गरेको सूचनामा सुरुमा भनिएको समयमा काम नसकिए पछि पुनः समय थप गरिएको बताईएको छ । नारायणगढबाट मुग्लिन जाने सवारी साधन मध्ये यात्रुबाहक सवारीलाई १५ किलो र माल बाहक सवारीलाई दाशढुङ्गामा रोकीने भएको छ । त्यसैगरी मुग्लिनबाट नारायगढतर्फ आउने सवारी मध्ये काठमाण्डौंबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिन बजारमा र पोखराबाट आउनेलाई बेनीघाटमा रोक्ने जनाईएको छ । काठमाण्डौंबाट आउने मालबाहक सवारीलाई लेवाटारमा र पोखराबाट आउनेलाई आँबुखैरहनीमा रोकीने छ ।
सूचनामा एम्बुलेन्स, शव बाहन लगाएतका अत्यावश्यक सवारीसाधनहरु सुरक्षा निकायको समन्वयमा आवागमन गराउने सकीने जनाईएको छ ।
नारायणढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिब खनालका अनुसार सो सडक खण्डको आठ स्थानमा पहिरो रोक्नका लागि तार रड लगाएतका सामाग्री प्रयोग गरेर गरिने रक नेटिङ्, बायोईन्जिनियरीङ्, बोल्टीङ् लगाएतका काम गरिदैंछ । सडक खण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चारकिलो, टोपे खोला र कालिखोला नजिक पहिरो रोकथामका काम गरिने खनालले जानकारी दिनुभयो ।
ती काम ६ महिना भित्र सम्पन्न गर्ने गरि बज्रगुरु, हिमशिखर र न्यू टेक्नीकल कम्पनिहरुले संयुक्त रुपमा रु १२ करोडको बोलपत्र सकार गरेका छन् । कामका क्रममा ढुङ्गा र माटो खस्ने भएकाले सडक रोकेर काम गर्न लागिएको हो । खनालका अनुसार खुकुलो माटो र ढुङ्गा झारिने छ । गतबर्ष सडक बिस्तारको काम सम्पन्न भए पनि पहिरो नियन्त्रणको काम सकिएको थिएन ।
बाटो सम्पन्न भए संगै चार वटा पुल बनाउन थालिएकोमा तीनवटा सम्पन्न भई सकेका छन् भने एउटा अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलको निर्माणका लागि प्रकृया अघि वढेको हो । यो सडक राजधानी भित्रने प्रमुख सडक हो । यसै सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् ।