चितवनः माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागु गरिने भएको छ । ऐन कार्यान्वयनको तयारीस्वरूप नगरपालिकामा गरिएको छलफल कार्यक्रममा नगरपालिकाले मङ्सिर १ गतेबाट मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
छलफलमा पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेले मासु जाँच ऐन कार्यान्वयनमा ल्याए संगै स्वच्छ र स्वस्थ मासु मात्रै बिक्रि गर्न पाईने बताउनुभयो । छाला बिहिन मासु बिक्रि गर्न पाईने, बिरामी, मरेका पशुहरुको वध गरेर बिक्रि गर्न नपाईने उहाँले बताउनुभयो । यसका लागि पशु बध स्थल र मासु बिक्रि कक्ष फरक हुनु पर्ने र कोलचेन (मासु राखिएको ठाउँको तापक्रम)मा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
नगरपालिकाले नगरभित्रका वधस्थलहरूको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका वधस्थलहरूलाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नु पर्ने हुन्छ । स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु बिक्रि बितरणको सूनिश्चितता गर्नु पर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा माडी नगरपालिकाका प्रमुख तारा कुमारी काजी महतोले बजारमा मासुको गुणस्तर र सरसफाइ कायम राख्न संयुक्त अनुगमन टोली गठन गरी काम गर्ने बताउनुभयो ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, पशुपन्छी तथा मत्स्य विकास शाखाका डा. नवराज चापागाईं, पशु सेवा कार्यालय चितवनका डा. सविना मिश्र र प्राबिधिक रामहरी शर्मा लगायतले मासु ऐन कार्यान्वयनका बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।






